चन्द्रागिरि सहकारीद्वारा प्रदर्शनीको आयोजना
काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उमन्स क्रिएशन सेवा केन्द्रमार्फत सदस्यहरुले उत्पादन गरेको वस्तु तथा सेवाको प्रदर्शनी गरेको छ । संस्थाको उमन्स क्रिएशन उद्यमी महिला समूहद्वारा लघु उद्यमी मेला आयोजना गरेका हुन् । बुढानिलकण्ठ नगरपालिका वडा न. ६ गणेशचोकमा रहेको सेवाकेन्द्रको प्राङ्गणमा प्रत्येक महिनाको अन्तिम शनिबार उद्यमी मेला आयोजना हुँदै आइरहेको संस्थाले जनाएको छ । संस्थाका सदस्यहरुले आ–आफ्ना वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनी गरिने मेलाले स्थानीयहरुको सहभागितामा बजारीकरणमा सहयोग पुग्ने संस्थानको विश्वास छ ।
यस्तो मेला स्थानीय उत्पादहरुको विनिमय हुने ठाउँ मात्र होइन बजारलाई चलायमान बनाउने, सम्बन्धहरु प्रगाढ बनाउने, नयाँ सम्भावनाहरु खोज्ने र सहकारिताको अभ्यास गर्ने माध्यम पनि भएको चन्द्रागिरि साकोसले उल्लेख गरेको छ । साकोसले समय समयमा विभिन्न कार्यक्रमको अवसरमा सदस्यहरुको वस्तु, सेवा र उत्पादनहरुको प्रदर्शनीमा सहजीकरण गर्दै आइरहेको छ र सदस्यहरुको सीपको डाटाबेस समेत तयार गरिसकेको छ । यसैबीच, साकोसले चन्द्रागिरि नगरपालिकामा अवस्थित मुख्य कार्यालय, दहचोक सेवाकेन्द्र, ललितपुर जिल्लाको शुभतारा सेवाकेन्द्र तथा पाटन सेवाकेन्द्र अन्तर्गतका सदस्यहरुमा पनि यस प्रकारको उद्यमी मेला आयोजना गर्ने ईच्छा भए सहजीकरण गर्ने समेत जनाएको छ ।