प्रसूति गृहमा गर्भको बच्चा र आमाका लागि ‘इको कार्डियोग्राफी’ सेवा
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले जेठ १ गतेदेखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा सुरू गर्न लागेको छ । यसअघि बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा लिनका लागि निजी अस्पताल महँगो पैसा तिरेर गर्नुपर्ने बाध्यता थियो । अस्पताल निर्देशक डा. श्रीप्रसाद अधिकारीले नयाँ सेवा विस्तारका रुपमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मुटुको जाँच इको कार्डियोग्राफी १ जेठदेखि सुरु हुने बताए । ‘गर्भवती महिला तथा गर्भमा रहेका बच्चाका लागि इको कार्डियोग्राफी सेवाले सेवाग्राहीलाई निकै सहजीकरण हुने विश्वास राखेको छु ।
अबदेखि प्रसूतिमै सर्वसुलभ रुपमा इको काडियोग्राफी लिन सकिन्छ,’ डा। अधिकारीले भने । डा. अधिकारीका अनुसार यसअघि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई सहजीकरण गर्न गंगालालकै चिकित्सकले हप्ताको तीन–तीन दिन उक्त सेवा दिने जानकारी दिए । इको कार्डियोग्राफी सेवा बेलुकी ५ बजेपछि मात्रै लिन सकिन्छ, टिकट लिनका लागि ३ बजे अस्पताल आइसक्नुपर्ने छ । गर्भवती तथा अन्य महिलाको ‘इको कार्डियोग्राफी’ आइतबार, मंगलबार र बिहीबार हुनेछ भने गर्भमा रहेको शिशुको ‘इको कार्डियोग्राफी’ सोमबार, बुधबार र शुक्रबार लिन सकिन्छ ।