सिरोहियालाई गिरफ्तार गरेपछि प्रजातान्त्रिक विचार समाजको आपत्ति

काठमाडौं । कान्तिपुर दैनिकका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले पूर्वाग्रहपूर्वक गिरफ्तार गरेपछि आपत्ति जनाउदै प्रजातान्त्रिक विचार समाजले तानाशाही प्रयत्न तुरुन्त सच्याउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । प्रजातान्त्रिक आर्थिक र नीतिगत भ्रष्टाचार एवं अख्तियार दुरुपयोगका घटना सम्बन्धी खोजमूलक समाचार प्रकाशित गर्दै आएको कान्तिपुर दैनिकप्रति वर्तमान सरकारले असहिष्णु र नियोजित प्रहार गरेको हो । हालका उप तथा गृहमन्त्री रवि लामिछानेले आधा दर्जन सहकारी संस्थाको रकम अपचलन गरेको प्रमाणित हुने कागज पत्र सहित कान्तिपुरले जनतालाई सुसूचित गरेको प्रतिशोध लिन गृहमन्त्रीको इसारामा अध्यक्ष सिरोहियालाई प्रक्राउ गरिएको र पत्रकारिताको स्वतन्त्रता एवं अभिव्यक्ति स्वतन्त्रता माथि निर्मम र निर्लज्ज प्रहार गरिएको प्रजातान्त्रिक विचार समाजको ठम्याइ छ ।

कान्तिपुरलाई निरुत्साहित गर्ने सरकारको उद्देश्यमा नेपालको समग्र पत्रकारिता क्षेत्रको स्वतन्त्रता, निर्भिक र तथ्य प्रकाशन, प्रसारणलाई नै दमन र निशाना बनाउन खोजेको स्पष्ट सन्देश दिइएको छ । गृहमन्त्री लामिछानेको दोहोरो पासपोर्ट र नागरिकता तथा सहकारीको रकम अनधिकृत प्रयोग गरेको खोजमूलक समाचार प्रकाशित गरको कारण प्रेस जगतलाई तर्साउने, धम्काउने र निरुत्साहित गर्ने उद्देश्य प्रेरित रबैयाले सरकार अधिनायकवादी, तानाशाही बाटोतिर लागेको सार्वजनिकवृत्तले महसुस गरेको छ । साथै केही दिनअघि मात्र गिरिबन्धु टि इस्टेट (गिरिबन्धु चिया बगान) को नीतिगत र सम्भावित आर्थिक भ्रष्टाचारको खोजी समाचार कान्तिपुरले प्रकाशित गरेको कारण पनि कान्तिपुरकर्मीमाथि नियोजित प्रहार गरिएको आशंका समेत जन्मिएको अध्यक्ष वाग्लेले बताएका छन् ।

प्रेसको संवैधानिक स्वतन्त्रता र जनताले थाहा पाउने अधिकारमाथि प्रहार गर्ने गृहमन्त्री तथा सरकारको कदमको निन्दा गर्दै प्रजातान्त्रिक विचार समाजले तानाशाही प्रयत्न तुरुन्त प्रधानमन्त्री पुष्पकमल दाहाल नसच्याए दुष्परिणामाको जिम्मेवारी सरकार र सरकारमा सामेल गठबन्धन दलहरुले समेत लिनुपर्ने धारणा सार्वजनिक गर्दै प्रजातान्त्रिक विचार समाजले आफ्नो कुकर्मबाट त्रसित सरकारका पदासीनहरुको कायरताजन्य दमनकारी रबैयाको प्रतिरोध गर्न स्वतन्त्रताप्रति सचेत नागरिक सबैमा अपिल गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *