नेपाल सरकार अंशअंश रुपमा विभाजित भएको छ- महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार अंशअंश रुपमा विभाजित भएको बताएका छन् ।

आज (मंगलबार) आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको सिंगो अस्तित्व हुनुपर्नेमा विभाजित भएको र सबैलाई खण्ड–खण्डको चिन्ता रहेको बताएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगी प्रकरणको कारबाहीबाट आफ्नो पार्टी सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता रहेको टिप्पणी गरे । एमालेलाई गिरीबन्धु टी स्टेट प्रकरणमा मुछिएको पार्टी अध्यक्ष केपी शर्मा ओलीको र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय अंक गणितको मात्रै चिन्ता रहेको बताए ।

‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो सभापतिलाई सहकारी ठगीको कारबाहीबाट जोगाउन सकियोस् । चिन्ता जम्मा त्यतिमात्रै छ । अर्कोको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरीबन्धुको ठगीबाट जोगाउन सकियोस् । प्रधानमन्त्रीलाई चिन्ता कसरी गणितलाई रक्षा गर्ने गर्ने भन्ने कुरामा मात्रै छ,’– उनले भने ।

गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउँदा प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनुस् भन्न पनि नसकेको उनले बताए । ‘आज प्रधानमन्त्रीजीको दुःख हेर्छु म, उपप्रधानमन्त्रीले बोलेको कुराको खण्डन गरेर बस्नुपरेको छ । उपप्रधानमन्त्रीजी भन्नुहुन्छ, जीबी राईलाई अघिल्लो सरकारले भगायो, अघिल्लो सरकारको नेतृत्वमा उनै प्रधानमन्त्री हुनुहुन्छ । अघिल्लो सरकारले भगायो भन्दैगर्दा कि तपाईँले यो अभिव्यक्ति फिर्ता लिनुस्, कि आज साँझ म तपाईँलाई बर्खास्त गर्छु भन्ने तागत आज देशको प्रधानमन्त्रीले राख्नुहुन्न,’– उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *