गृहमन्त्रीद्वारा लागुऔषध ओसारपसार र सेवन अन्त्यका लागि योजना बनाउन सुरक्षा निकायलाई निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
‘लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का सन्दर्भमा आज गृह मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले लागुऔषधको ओसारपसार र आपूर्तिकर्तालाई कडाभन्दा कडा कारबाही गर्न निर्देशन दिए । सीमित साधन स्रोतबीच सुरक्षा निकायले सम्पादन गरेका कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले सुरक्षा निकायका लागि पर्याप्त बजेट तथा जनशक्तिको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए । गलत बाटोमा हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताउँदै उनले लागुऔषध दुर्व्यसनबाट बाहिर निस्केर समाज सुधारकको भूमिका निर्वाह गर्न आग्रह गरे ।
लागुऔषध दुर्व्यसन नियन्त्रणमा सरकार, समुदाय र आम नागरिकको उत्तिकै भूमिका रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले दुर्व्यसनीमा फसेकालाई सुध्रन मौका दिइने तथा बिक्री वितरणमा संलग्नलाई कडा कारबाही हुने स्पष्ट पारे । उनले लागुऔषध दुर्व्यसनलाई अन्त्य गर्न सरकारले विभिन्न अभियान सञ्चालन गरेको भए पनि दुर्व्यसनीको सङ्ख्या बढ्दै जानुमा कहीँ न कहीँ कमजोरी भएको महसुस गरिएको बताए ।
लागुऔषधको दलदलमा फसेका व्यक्तिलाई दुर्व्यसनको चक्रबाट मुक्त गरी समाजमा पुनः स्थापना गर्न सुधार केन्द्रको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले पुनः स्थापना केन्द्रले उपचार सेवालाई व्यापार बनाउन नहुनेमा जोड दिए । उपप्रधानमन्त्री लामिछानेले लागुऔषधको अवैध ओसारपसार नियन्त्रण तथा सेवनकर्तालाई समाजमा पुनः स्थापना गराउन क्रियाशील सङ्घसंस्थालाई सम्मान गरेका थिए ।