कोसी ब्यारेजका ५६ वटा ढोका खोलियो

विराटनगर । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । सप्तकोसी नदीमा पानीको बहाव उच्च तहमा पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका एसपी नवीनकृष्ण भण्डारीले बहाव उच्च भएकोले सबै ५६ वटा ढोका खुला गरिएको बताए । नदीमा तीन लाख ६८ हजार क्युसेक पानी बहाव रहेको जनाइएको छ । ब्यारेजको क्षमता भने ९ लाख क्युसेक छ ।

आइतबार बिहान तीन लाख ४२ हजार क्युसेक पानीको बहाव थियो । नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत दिन रातो बत्ती बालिएको छ भने रातो झन्डा फहराइएका छन् । सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *