वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिन सांसदहरुद्वारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बर्तमान सरकार अल्पमतमा परेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा दिन आग्रह गरेका छन ।

आज (आइतबार) प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेस र एमालेका सांसदहरुले वर्तमान सरकार अल्पमतमा परेकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका हुन् । यही असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनको सहमति भई एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको सन्दर्भमा दाहाल नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय गर्न नहुनेमा दुवै दलले जोड दिएका छन् ।

कुन सांसदले के कुरामा सरकारको ध्यानाकर्षण गरे ?

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वर्तमान सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बहुमत गुमाएको अहिलेको सरकार पदमा रहनु अशोभनीय भएको टिप्पणी गर्दै राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति मार्गप्रशस्त गर्न आग्रह गरे।

सांसद रघुजी पन्तले बहुमत गुमाएका प्रधानमन्त्री दाहालको राजीनामा माग गरे । सांसदहरु बलमपाकी मगर, मैना कार्की र मेनकाकुमारी पोखरेलले अल्पमतमा परेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताए । उनीहरुले अब बन्ने सरकारलाई काम गर्न वातावरण सृजना गर्नुपर्ने समेत बताए ।

यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले भने विश्वासको मतको प्रस्ताव प्रस्तुत भएर असफल भएपछि प्रधानमन्त्री एक मिनेट पनि पदमा नबस्ने र संविधानअनुसार सरकार अघि बढ्ने जनाए।

सांसद बुद्धिमान तामाङले मुलुकमा बाढी, पहिरा र डुबानमा मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै खोजीकार्य तीव्र पार्न ध्यानाकर्षण गराए । सांसद महेन्द्रकुमार राय, सांसद मानवीर राई, सांसद मुक्ताकुमारी यादवले प्रकोपका कारण विस्थापितलाई राहत, क्षतिपूर्ति र बसोबासको व्यवस्थापन गर्न माग गरे।

सांसद मनिष झाले पाठ्यसामग्री प्रकाशकले परिवर्तित पाठयक्रमअनुसार पाठ्यसामग्री परिवर्तन नगरी पुराना पाठ्यसामग्री पढाइएकामा आपत्ति जनाए।

सांसद मंगलप्रसाद गुप्ताले धार्मिक पर्यटकीय क्षेत्र प्यूठानको स्वर्गद्वारीको विकास र प्रवर्द्धनका लागि पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद रणेन्द्र बराली, रामकुमार राई, रमाकुमारी पौड्यालले अविरल वर्षाबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराए। अन्य सांसदहरुले पनि बिभिन्न समसामुहिक विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *