बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि सरकार परिवर्तन भयो- प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको अभियानका कारण सरकार परिवर्तन भएको दाबी गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालेपछि विभिन्न समूहहरू डराउन थालेको बताए । “सरकारको सुशासन अभियानले हिजोसम्म शासन गरिरहेको वर्ग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो । एउटा समूह डरायो । ललितानिवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तिको प्रक्रिया सुरु भयो अर्को समूह डरायो, “भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठूलै समूह डरायो ,”उनले भने ।
प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि देशको शक्तिसन्तुलन नै खल्बिलिन पुगेको दाबी गरे । त्यही शक्तिले कांग्रेस र एमालेलाई मिलाएको उनको दाबी छ । प्रचण्डले सदनमा रहेका दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाउँदा सदन निरंकुशतातर्फ जाने दाबी गरे । उनले दुई ठूला दलको सत्ता यात्राले देशलाई प्रतिगमनतर्फ लैजान खाजेको आरोपसमेत लगाए ।
‘पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशता प्रबर्धन हुन्छ । यहाँ त सरकार मात्र बनाउने होइन संविधानमाथि छेडछाड समेत गर्न खोज्दै हुनुहुन्छ । तपाईंहरूको यात्रा प्रतिगमततर्फ हो । हस्ताक्षर कसका घरमा गर्नुभयो ? सहमति कुन समयमा गर्नुभयो ? त्यसको हिसाब नेपाली जनताले राखेका छन्’ प्रचण्डले भने । उनले दुई ठुला दलको सहमतिले लोकतन्त्र कमजोर हुने दाबी समेत गरे ।