ब्राजिलमा विमान दुर्घटनामा ६२ जनाको मृत्यु
काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ । विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् । वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।
साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी नभएको जनाएको छ । तर, दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले जानकारी दिएको बीबीसीले बताएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् । घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको छ । दुर्घटनाको खबरपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले दुर्घटना धेरै दुखद् भएको बताएका छन् ।