अमेरिकाले दुई स्काई ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने
काठमाडौँ । नेपालको विपद् व्यवस्थापन प्रयासमा प्रयोग गर्न र हवाई क्षमतालाई सुदृढ गर्न अमेरिकाले दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर सहयोग गर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले उक्त सहयोग गर्न लागेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले शनिबार एक्स (ट्वीट) मार्फत जानकारी दिएकी हुन् अमेरिकी उपविदेशमन्त्री रिचर्ड वर्माको शुक्रबार भएको एक दिने भ्रमणमा नेपाललाई दुई स्काइट ट्रक र दुई बेल हेलिकप्टर दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपालले प्राप्त गर्ने ती हेलिकप्टरहरुमा नेपाली सेनाले प्रयोग गर्ने छ । राणाले अमेरिकाको उदार सहयोगको लागि वर्मा र विदेश मन्त्रालयलाई धन्यवाद पनि दिएकी छन् ।
नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणासँगको शिष्टाचार भेटवार्तामा गरेका थिए । उक्त अवसरमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा कुराकानी भएको हो । वर्माको भ्रमणबारे अमेरिकी विदेश मन्त्रालयका प्रिन्सिपल उपप्रवक्ता वेदान्त पटेलले पनि शुक्रबार वक्तव्य जारी गरेका छन् । वक्तव्यमा वर्माले नेपालको विपद् प्रतिकार्य र हवाई क्षमतालाई सुदृढ गर्न जोड दिएको उल्लेख छ । उपविदेशमन्त्री वर्माले नेपालको रोटरी विङ (हवाई) क्षमताका लागि विदेशी सैन्य वित्त कोषबाट १० करोड डलर उपलब्ध गराउने अभिप्राय व्यक्त गरेका छन्, वक्तव्यमा भनिएको छ । भेटमा रकम उपलब्ध गराउनेबारे अमेरिकी कंग्रेसमा समीक्षा भइरहेको वर्माले जानकारी दिएका थिए । यसका लागि उनले अमेरिकाको विदेशी सैन्य वित्त कोषबाट सहयोग उपलब्ध गराउने अभिप्राय व्यक्त गरेका छन् ।