चार वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको चार वटा संसदीय समिति कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक आज बस्दै छ । कानुन, महिला र पूर्वाधार समितिको बैठक बिहान ११ बजे र कृषि समितिको बैठक बिहान ११ः३० मा संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।
कानुन समितिमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गरिनेछ भने कृषि समितिमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्याका र नेपालमा ईआईए,आईईईलगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुनेछ । पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।