दुर्घटनाका घाइतेलाई भेट्न भारतले केन्द्रीय मन्त्री नेपाल पठाउँदै
काठमाडौं । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे काठमाडौं आउने भएकी छन् । उनका साथमा महाराष्ट्र जलगाउँका एक विधायक पनि आउने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार भइरहेको हो ।
दुर्घटनामा परेर सामान्य घाइते भएका तीन जनालाई भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ । दुर्घटनामा परेका सबै महाराष्ट्रको जलगाउँका स्थानीय हु्न् । नेपाल आउन लागेकी मन्त्रीको गाउँ जलगाउँ नै हो । शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एकजनाको भरतपुरमा मृत्यु भएको हो ।