इन्डोनेसियामा सामाजिक सञ्जालको प्रयोग गरी गैँडाको सिङ बेच्न खोज्ने पक्राउ

जकार्ता । हात्तीको दाँत र लोपोन्मुख गैँडाको सिङ सामाजिक सञ्जालमार्फत बिक्री गर्न खोज्ने एक व्यक्तिलाई इन्डोनेसियाली प्रशासनले पक्राउ गरेको छ । इन्डोनेसियाको वातावरण मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका व्यक्ति दोषी ठहरिएमा १५ वर्षसम्मको जेल सजाय हुन सक्ने जनाएको छ । इन्डोनेसियामा वन्यजन्तुको अवैध व्यापार व्याप्त रहेको छ । दक्षिण सुमात्रा प्रहरीले यसै वर्षको सुरुमा फेसबुकमा संरक्षित वन्यजन्तुका केही भाग बिक्रीका लागि प्रस्ताव गरेको पोस्ट देखेपछि अनुसन्धान सुरु गरेको थियो । दक्षिण सुमात्राको पालेम्बाङमा गैँडाको सिङ र हात्तीको दाँतबाट बनेको पाइप बिक्री गर्ने क्रममा गत साता ‘जेडए अर्थात् जा’ भनिने ६० वर्षीय एक व्यक्तिलाई पक्राउ गरिएको थियो ।

उनको घरमा थप सात वटा गैँडाको सिङ र चारवटा हात्तीको दाँत फेला परेको प्रहरीले जनाएको छ । उनी वन्यजन्तुको व्यापारमा निकै अनुभवी रहेको देखिन्छ, वातावरण मन्त्रालयले भनेको छ । सन् २०१८ देखि यता उजुङ कुलोन राष्ट्रिय निकुञ्जमा २६ वटा लोपोन्मुख जाभान गैँडा मारेको आशंकामा प्रहरीले गत जुनमा चोरी सिकारीको समूहलाई पक्राउ गरेको थियो । कुनै समय दक्षिणपूर्वी एसियामा यिनीहरू हजारौँको संख्यामा थिए । तर, अनियन्त्रित चोरी सिकारी र तिनीहरूको वासस्थानमाथिको मानव अतिक्रमणले गर्दा धेरै प्रभावित भएका छन् र वातावरण मन्त्रालयले जंगलमा करिब ८० वटा मात्र जनावरहरू बाँकी रहेको बताएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (ण्आईयूसीएन)ले सुमात्रान गैँडालाई पनि अति संकटापन्न घोषणा गरेको छ भने ५० भन्दा कम गैँडा बाँकी छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *