आमनिर्वाचनमा एक्लाएक्लै लड्ने कांग्रेसको निर्णयलाई ओलीले गरे स्वागत
काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आगामी आवधिक निर्वाचनहरूमा गठबन्धन नगर्ने नीति लिएकोमा स्वागत गरेका छन्। गत फागुन ७ गतेदेखि १० गतेसम्म गोदावरीमा चलेको महासमिति बैठकमा कांग्रेस महामन्त्री गगन थापाले गठबन्धन नगर्ने प्रस्ताव राखेका थिए। गठबन्धनको विषय रणनीतिक भन्दै सभापति शेरबहादुर देउवाले यो विषय निर्णय गर्ने पक्षमा थिएनन्। तर पदाधिकारीहरूसँग लगातार छलफल गरेर महामन्त्री थापाको प्रस्तावको उक्त विषय केन्द्रीय समितिबाट अनुमोदन गर्न सभापति देउवा तयार भएका थिए। गत आइतबारको केन्द्रीय समिति बैठकले आफ्नै तागतमा निर्वाचनहरू लड्ने निर्णय गरेको थियो। ‘हाम्रो आफ्नो सङ्गठनलाई थप उर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीका रूपमा पुनर्स्थापित गर्नेछौं। हामी भविस्यमा हुने आवधिक निर्वाचनहरुमा आफ्नै तागतमा एक्लै लड्ने छौँ। र हाम्रा मतदातालाई रुख चुनाव चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं, महामन्त्री थापाको सांगठनिक प्रस्तावको यो विषय केन्द्रीय समितिबाट पारित भएको हो।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कांग्रेसको यही निर्णयको मंगलबार च्यासलमा बसेको पोलिटब्युरो बैठकमा स्वागत गरेका हुन्। एमाले पनि एक्लाएक्लै चुनाव लड्ने र गठबन्धन नगर्ने नीतिको पक्षमा रहेको अध्यक्ष ओलीले बताएको एक पोलिटव्युरो सदस्यले जानकारी दिए। ‘एक्लै चुनाव लड्ने कांग्रेसले जुन निर्णय गरेको छ, यो निकै स्वागतयोग्य कुरो हो। वास्तवमा हामी पनि चुनावअगाडिको गठबन्धनको पक्षमा छैनौं। एमाले एक्लै चुनाव लड्ने गरी तयार गर्नुपर्छ। एमालेले २०७९ को चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको थियो भने २०७४ को चुनावमा माओवादी केन्द्रलगायतसँग गठबन्धन गरेको थियो। कांग्रेसले २०७९ मंसिरमा भएको चुनावमा माओवादी, एकीकृत समाजवादी लगायतसँग गठबन्धन गरेको थियो।