मताधिकारको सम्मान गर्नु राज्यको दायित्व हो : प्रधानमन्त्री ओली
काठमाण्डौं । बुधबार दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२औँ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिबिम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् । प्रधानमन्त्री ओलीले कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्ने र त्यसका लागि उचित वातावरण बनाउन प्रयास गर्ने बताए । बसाइँसराइँ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश(विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउनु हामीले साझा प्रयास गर्न आवश्यक छ, ।
हिमालहरू पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीबीच लोकतन्त्रको अभिन्न अंगका रूपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको सन्दर्भमा विगतका निर्वाचन व्यवस्थानका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सके आम जनताको मताधिकारको सम्मान हुने पनि बताए । फेम्बोसा वडापत्रलाई यस सम्मेलनले थप प्रभावकारी कार्यान्वयनमा सघाउने प्रधानमन्त्री ओलीको विश्वास थियो । उद्घाटन सत्रमा मञ्चका अध्यक्ष भुटानको निर्वाचन आयोगका प्रमुख आयुक्त दासो सोनाम तोब्गेले नेपालको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालाई नेतृत्व हस्तान्तरण गरेका थिए । सम्मेलनमा नेपालका साथै भारत, भुटान, श्रीलंका, माल्दिभ्सलगायत मुलुकका प्रमुख निर्वाचन आयुक्त र प्रतिनिधि सहभागी छन् ।