माइतीघरमा धर्ना दिइरहेका अधिकारकर्मी पक्राउ

काठमाडौं । बाँकेको नेपालगञ्ज–१७ की निर्मला कुर्मीलाई न्याय माग्दै माइतीघरमा २८ दिनदेखि धर्ना दिइरहेका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा धर्ना दिइरहेका रुबी खानसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो । २०६२ मा निर्मलाका श्रीमान् महलु कुर्मीको मृत्यु भयो । श्रीमान् गुमाएको चार वर्षपछि २०६६ मंसिरमा १० दिनको अन्तरालमा निर्मलाले आफ्ना दुई छोरा रामसागर र सुरेश गुमाइन् । दुई छोरा र श्रीमान् गुमाएर शोकाकुल भएकी निर्मलालाई बन्धक बनाएर कुटपिट गर्न थालियो । निर्मलाको नागरिकता, श्रीमान् र छोराको मृत्युदर्ताको प्रमाणपत्र, घरजग्गाका कागजात खोसिए । यी सब भइसकेपछि २०७५ मा निर्मलालाई बेपत्ता पारियो । सीमापारि भारतमा निर्मलाको शंकास्पद मृत्यु भएको भनिए पनि उनको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

यस घटनामा नेपाली कांग्रेसका नेता बादशाह कुर्मी संलग्न रहेको आरोप लागेको छ । उनी अहिले लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री छन् । २०६४ मा संविधानसभा सदस्यसमेत रहेका बादशाह निर्मलाका छिमेकी हुन् । निर्मला कुर्मीले न्याय पाउनुपर्ने, कांग्रेस नेता बादशाहमाथि छानबिन हुनुपर्ने भन्दै अधिकारकर्मीहरू यस अगाडि पनि तीनपटक धर्नामा बसिसकेका छन् । २८ दिनसम्म धर्नामा बस्दा पनि सरकारले सुनुवाइ नगरेको भन्दै अधिकारकर्मीहरू आन्दोलित भएर निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पक्राउ गरेको हो ।२६ असोज २०७८ गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा गठित छानबिन समिति गठन भएको थियो । समितिले बादशाह कुर्मीमाथि छानबिन गर्न निर्देशन दिएको थियो । त्यसपछि फागुन २०७९ मा प्रहरी वरिष्ठ उपरिक्षक दिनेशकुमार आचार्य नेतृत्वको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरेको थियो । अनुसन्धान भइसक्दा पनि मुद्दा अदालत नपुर्‍याएकामा अधिकारकर्मी आक्रोशित छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *