गोल्याण ग्रूपको गम्भीर आपत्ति
नेपालमा ठूलो संख्यामा रोजगारी सृजनाका साथै राजस्वमा पनि ठूलो योगदान पुर्याउँदै आएको गोल्याण ग्रूपले आफूलाई जोडेर मिडियामा आएका विषयप्रति आफ्नो गम्भीर आपत्ति रहेको उल्लेख गरेको छ। विवादमा तानिएको लेकाली कोर्पसँग आफुहरुको कुनै तवरले पनि सम्बन्ध नरहेको भन्दै उसले आफुहरुलाई जबर्जस्ति विवादमा नतान्न पनि भनेको छ। गोल्याण ग्रूपद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘गोल्याण ग्रूपको लेकाली कोर्पसँग कुनै पनि तवरले, प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा, सम्बन्ध तथा सरोकार नरहेको कुरा जानकारीको लागि अनुरोध छ । साथै गोल्याण ग्रूप अन्तर्गतका कम्पनीहरू, सञ्जाल कम्पनीहरू र सम्बन्धित सञ्चालकहरूको समेत लेकाली कोर्पसँग कुनै पनि किसिमको सम्बन्ध वा सम्बद्धता छैन।’ ‘यसरी कुनै तवरले पनि लेकाली कोर्पसँग सम्बन्ध नै नहुँदा पनि सो समाचारमा नाम जोडी आएको हुँदा सो समाचार भ्रमपूर्ण र असत्य हो भनी सबैको जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । यस प्रकारका असत्य तथा भ्रामक समाचारका कारण प्रतिष्ठा, मर्यादा र ख्यातीमा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ग्रूपले गम्भिर आपत्ति जनाएको हो। विज्ञप्तीमा अगाडी भनिएको छ, ‘अतः उचित अध्ययन, अनुसन्धान तथा आधार बिना लेखिएको उक्त समाचारले हाम्रो संस्था र लेकाली कोर्पको गलत तरिकाले नाम जोडेकोले हाम्रो व्यावसायिक क्रियाकलाप र सम्बन्धहरूलाई असर पुर्याउन सक्छ ।
यस्तो गलत जानकारीले हाम्रो प्रतिष्ठा र गोल्याण ग्रूपको व्यवसायिक बजारमा विश्वसनीयता घट्न सक्छ ।पारदर्शिता कायम राख्न र सार्वजनिक जानकारीको सटीकता सुनिश्चित गर्न यी गलत जानकारीलाई सच्याउन र भ्रमको फैलावटलाई रोक्न अत्यन्त महत्वपूर्ण छ । असत्य जानकारीले हाम्रा व्यापारिक चासोहरू र सार्वजनिक छविमा नकारात्मक प्रभाव पार्न सक्छ । साथै, यस्तो झुटो समाचारले पत्रकारिताका अखण्डता र मानकहरूलाई समेत कमजोर बनाउन सक्छ ।’ पछिल्लो समय लेकापी कोर्प लगायत केहि विवादित संस्था तथा व्यक्तिहरुसँग गोल्याण ग्रूपलाई जोडेर समाचार बाहिरिएका छन्। यसलाई लिएर सार्वजनिक ध्यानाकर्षणको लागि विज्ञप्ती जारी गरिएको गोल्याण ग्रूपले बताएको छ।