पोखराको तालचोकमा भाटभटेनीको २८औँ स्टोर खोल्ने
काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले २८औँ स्टोर पोखराको तालचोकमा खोल्ने भएको छ । स्टोर निर्माणका लागि सोमबार बिहान भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले भूमि पुजन गरी काम थालेका छन् । भाटभटेनीका २७ वटा स्टोर यसअघि निर्माण सम्पन्न भइसकेर सञ्चालनमा आएका छन् । पोखरा महानगरपालिकामा यसअघि पनि भाटभटेनीले स्टोर सञ्चालनमा ल्याइसकेको छ । काठमाडौं उपत्यकाबाहिर एउटै महानगरमा दुई वटा स्टोर पोखरामामात्रै सञ्चालनमा ल्याउन लागिएको छ । विभिन्न क्षेत्रबाट पोखरामा बसाइँसराईको दर बढ्दो अवस्थामा रहेको र भाटभटेनीको अर्को स्टोर आवश्यकता देखेर तालचोकमा निर्माण गर्न लागिएको गुरुङले बताएका छन् ।

यस २८औँ स्टोरमा पाँच सय जनाले रोजगारी प्राप्त गर्ने अध्यक्ष गुरुङले बताए । पर्यटकीय नगरीको रुपमा परिचित पोखरामा दोस्रो भाटभटेनीको सुरुवात हुन लागेको भन्दै स्थानीय, उद्योगी, व्यवसायीले खुसी व्यक्त गरेका छन् । पोखराको दिगो विकासमा यसले पक्कै पनि टेवा पुर्याउनेछ, व्यवसायी अर्जुन पोखरेलले भने, यहाँ भाटभटेनीको अर्को स्टोर खुल्नु पोखराका लागि गौरवको कुरा पनि हो । हामी भाटभटेनीका सञ्चालकलाई भित्रैबाट आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छौँ । २५ हजार ६ सय स्क्वायर फिटसहित दुई वटा सिनेमा हल पनि उक्त भवनमा रहने भएको छ । करिब एक अर्ब लागतमा स्टोर सञ्चालनमा आउने छ । भूमि पुजन समारोहमा पोखराका उद्योगी, व्यवसायी तथा स्थानीयको पनि उपस्थिति रहेको थियो । भाटभटेनीले कोभिडका बेला पनि मुलुकका विभिन्न स्थानमा आफ्ना स्टोर विस्तार गर्दै अघि बढेको थियो ।
















