रास्वपाका नेताहरू निस्किए चीनको भ्रमणमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जना सांसद तथा पार्टीका नेताहरू चीन भ्रमणमा गएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनीहरू शनिवार मध्यराति चीन प्रस्थान गरेका हुन् ।
चीनको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रगतिको अवलोकन गर्नुको साथै त्यहाँका नेताहरूसँग भेटघाट पनि हुने कार्यक्रम रहेको सो पार्टीका प्रवक्ता एवं केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । टोलीमा सांसद शिशिर खनाल, पार्टीकी कोषाध्यक्ष लिमा अधिकारी, सांसदहरु मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली, केन्द्रीय सदस्यहरु बासुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेका छन् ।
उनीहरुले चीनमा सांस्कृतिक अध्ययन, सिचुवान विश्वविद्यालयको भ्रमण, इनोभेसन सेन्टरहरुको अवलोकन गर्ने कार्यक्रम रहेको प्रवक्ता कार्कीले बताए । उनीहरु १४ असोजमा फर्किनेछन् ।