ठकुरी आखिर को हुन् ?
ठकुरी कुनै एउटा निश्चित जात नभई सिङ्गो समुदाय हो । मल्ल, चन्द, सिंह, शाह, शाही, पाल, बम, सेन, राठौर/राथोड/राठोर, खाण्ड/खाण/खान यी बाहेक, हमाल, कल्याल, कौशिक, मेधासी, श्रेणत, वंशी, राष्कोटी, राजकोटी, बैग, आदी जातजातीका मानिसहरू ठकुरी समुदायमा पर्दछन् ।
नेपालको इतिहासमा सेन, शाह, सिंह र मल्ल ठकुरी राजाहरूको विशेष चर्चा गरिएको छ । यी मध्य चन्दहरूको राज्य वा उनीहरूले गरेको राजकाजका विषयमा नेपालको आधिकारिक इतिहासमा कतै पनि चर्चा गरिएको पाइँदैन । यथार्थमा चन्दहरूको पनि लामो शासनकाल रहेको छ । बाईस्य/चौविस्य राज्य पूर्व र नेपाल एकीकरण हुँदा समेत चन्द राजाहरूले राज्य गरेको तथ्य छ । नेपालको इतिहासमा किन चर्चा गरिएन त्यो बारेमा बिस्तारै सोधखोज हुँदै गएको पनि छ । प्युठानको भित्री कोट राज्यका चन्द्र वंशी चन्द राजाहरूको बारेमा मैले कतै लेखिसकेको छु । पाल्पा राज्यपछिको निकै प्रभावशाली राज्यमा पर्ने भित्री कोट राज्य वि.सं. १९४३ कार्तिक महिनामा बहादुर शाहले नेपाल एकीकरण अभियान अन्तरगत सिङ्गो नेपाल राज्यमा गाभेका थिए । चर्चा गरौँ ठकुरीहरू को हुन् त भन्ने बारेमा, आखिर ठकुरीहरू को हुन् भन्ने विषयमा विगत देखि निकै चासो राखिए पनि अहिले केही खुला बहस गर्न थालिएको छ ।
इतिहासकार डोर बहादुर विष्ट, डा. सुरेन्द्र केसी, डा. जगमान गुरुङ, पूर्व मन्त्री बालाराम घर्ती मगर, योगी नरहरिनाथ, पूर्व मन्त्री समेत भएका केशर बहादुर विष्ट र अर्जुन ज्ञवाली जस्ता लेखक तथा विद्वानहरूले मगर वंश बाटै ठकुरी बनेका हुन् भन्ने तर्क गरेका छन् । उल्लेखित विद्वान तथा लेखकहरूले गोरखाका शाहवंशिय राजा र पाल्पाली सेन वंशका राजाहरूलाई उद्दित् गर्दै ठकुरीहरू मगर वंशका हुन् भनेको पाइयो । के गोरखा र पाल्पाका शाह र सेन मात्रै ठकुरी हुन् त ? वा उनीहरू मगर वंशबाटै अप ग्रेट भएका ठकुरी हुन् भन्दैमा सारा ठकुरी समुदायलाई नै मगर हुन् भन्न मिल्छ त ? कदापि मिल्दैन । केही धर्म, संस्कृति वा परमपराहरु मेल खाँदैमा एउटा समुदायलाई अर्को समुदायसँग न दाँज्न मिल्छ न त एउटै हो भन्न नै मिल्छ । नेपालका हरेक जाति वा समुदायका आ-आफ्नै परम्परा र संस्कृतिहरू छन् । त्यस्तै ठकुरी समुदायहरूको पनि आफ्नै संस्कृति र परमपराहरु छन् । ठकुरीहरूको बसोबास गण्डक क्षेत्र, कर्णाली र सुदूरपश्चिममा उल्लेख्य मात्रामा रहेको छ ।
यी क्षेत्रबाहेक काठमाडौँ वरपर र पूर्वका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, केही तराईका जिल्ला हुँदै सुदूर पूर्वका झापा, इलाम र पाँचथर सम्म छिटपुट ठकुरीहरूले बसोबास रहेको देखिन्छ । हाल देशका जुनसुकै भू-भागहरूमा ठकुरी समुदाय बसोबास गरेतापनि उनीहरूका पुर्खा गण्डक, कर्णाली र सुदूरपश्चिमसँग जोडिएका देखिन्छन् । मल्ल, शाह, सिंह, सेन र चन्द बाहेकका ठकुरीहरूले पनि कुनै न कुनै कालमा राज्य गरेको प्रशस्त प्रमाणहरू छन् । तथापि नेपालको हामीले पढ्ने गरेको इतिहासमा सेन, शाह, मल्ल र सिंहको मात्रै उल्लेख गरिएको छ । चन्दहरूको किन गरिएन भन्ने बारेमा मैले माथि उल्लेख गरिसकेको छु । प्युठानको भित्री कोट राज्यका चन्द राजाहरूको बारेमा पनि मैले लेखिसकेको छु । सुदूरपश्चिमको बैतडी र वरपर बसोबास गरेका चन्दहरूले पनि आफ्नो कालमा राज्य सञ्चालन गरेको देखिन्छ । तिनीहरूको बारेमा पनि नेपालको इतिहासमा किन उल्लेख गरिएन भन्ने बारे तत्कालीन सत्तासीन व्यक्ति र लेखकहरूको कु नियत सिवाय अरू भन्न सक्ने समय मसँग अहिले छैन । बाँकी अरू कुनै बसाइँमा लामै बहसहरू गरौँला, अहिलेलाई यत्ति नै भनौँ । के पाल्पाका सेन वंश र गोरखाका शाहवंश राजाका पुर्खा मगरहरू नै हुन त ? पाल्पामा केही शाह, शाही र सेन ठकुरीहरूले आलामदेवी पुज्दैमा मगरका सन्तान थिए भन्ने तथ्य अत्यन्तै फितलो लाग्छ ।
अर्को कुरा गोरखाली राजा पृथ्वीनारायण शाहले म मगरातको राजा हुँ भने भन्दैमा पनि गोरखाका शाहवंश मगरबाटै ठकुरी बनेका हुन् भन्ने तर्क हास्यास्पद लाग्दछ । खान्चा र मिन्चा खानहरूको उदाहरण दिएर गण्डकका शाह, शाही र सेन मगर वंशकै हुन् भनी पुष्टि गर्न सकिँदैन । यहाँ रमाइलो र हास्यास्पद त अझ यो कुरा पो लाग्दछ । जुन गण्डक क्षेत्रका ठकुरीहरूले मामा वा मावलीपट्टीका छोरी चेली बिहेवारी गर्दछन्, जुन परम्परा मगरहरूसँग ठ्याक्कै मिल्छ भनेर पनि ठकुरी र मगर एउटै हो भनिएको पाइयो । त्यसो त गुरुङ, तामाङहरूले पनि मामाकी छोरी बिहे गर्दछन्, किन उनीहरूसँग ठकुरीहरूलाई जोडिएन ? गोरखाको मनकामना मन्दिरमा मगर पुजारी छन् भन्दैमा पनि ठकुरीहरूका पुर्खा मगर नै हुन् भन्ने कुनै बलियो प्रमाण वा पुष्टि हुन सक्दैन । यस्ता कुतर्क गर्नु अघि हाम्रो नेपालको उति बेलाको अवस्था, संस्कृति, परम्परा, जनसङ्ख्या र विभिन्न जातजातिको बस्ती तथा बाहुल्यता हेर्नुपर्ने हुन्छ । जुन ठाउँमा जुन जाति वा समुदायको बाहुल्यता हुन्छ, त्यहाँ उनीहरूकै भाषा, लवज, संस्कृति र परम्परालाई अङ्गीकार गरेको देखिन्छ । त्यसको असर खानपानमा पर्दछ र बिहेबारीमा पनि पर्दछ । जातीय विभेद अहिलेको आधुनिक समाजमा कल्पना समेत गर्न सकिन्न तर पनि विभेद हटेको छ भन्न मिल्दैन । उति बेला पनि अहिलेको भन्दा बढी जातीय विभेद थियो ।
ठकुरीहरूले अन्य जातका महिला वा पुरुषसँग बिहेवारी गर्ने कल्पना समेत गरिदैनथियो । तथापि भागी बिहे वा लुकी चोरी शारीरिक सम्बन्ध स्थापना गर्ने र सन्तान उत्पादन गर्ने कार्यहरू भएका थिए । त्यसो गर्दा जेनेटिक प्रभाव परेर कालो, गोरो, चुच्चे वा थेप्चे नाक, नक्सा भएका सन्ततिकै कारण पनि ठकुरी मगर वंशकै हुन् भन्न मिल्दैन । एउटै समाजमा दुई वा दुई भन्दा बढी समुदायका मानिसहरूको बसोबास हाम्रो देशका अधिकांश क्षेत्रहरूमा रहेको छ । काठमाडौँमा बसे नेवारी समुदायको प्रभाव पर्नु, तराईमा बसे मधेसी समुदायको वा पश्चिमी तराईमा राना थारुहरूको सामुदायिक प्रभाव पर्नु सामान्य कुरा हो । यसैको आधारमा यो जाति सो जातीबाट आएको वा बनेको हो भन्नु अज्ञानता सिवाय अरू केही होइन । त्यसो त सुदूरपश्चिम र कर्णालीका ठकुरीहरूले मामाकी छोरी बिहे गर्दैनन् । खस आर्य र बाहुनहरूले जस्तै तिहारमा मामाकी छोरीको हातबाट टिका समेत लगाउने गर्दछन् । उनीहरूको खस आर्य र बाहुनहरूको जस्तै नाक नक्सा तथा जुँगादारी आउने गर्दछ, के सुदूरपश्चिमका ठकुरीहरूलाई खस या बाहुनका पुर्खा हुन् भन्दिने त ? हो यस्तै हो गण्डक क्षेत्रका ठकुरीहरूमा पनि, हिजो को के थिए त्यो गौण कुरा हो आज उनीहरू सबै ठकुरी हुन् । अर्को कुरा उति बेला जात उकाल्ने र झार्ने प्रचलन थियो । कतिपय ठकुरी दलित समेत बनाइएका छन् भने दलितहरू ठकुरी बनेका तथ्य छन् । यस्तो कुरा हरेक जाती र समुदायमा थियो । एउटा जल्दो बल्दो उदाहरण बिरनरसिं कुँबर बाट जङ्गबहादुर राणा बनेको प्रस्टै छ । मेरै मध्यपश्चिम क्षेत्रमा र धादिङको एउटा गाउँमा लगभग १० देखि १५ घरधुरीहरू ठकुरीबाट मगर बनेका छन् ।
भारत र बेलायती सेनामा भर्ना हुँदा उति बेला थापा भन्ने थरलाई विशेष ग्राहेता दिइन्थ्यो । थापा भनेको थापा मगर, ती ठकुरीहरूले आफ्नो जीविका चलाउन विदेशी सेनामा भर्ती हुनै पर्ने भयो । शाह, चन्द, मल्ल, सेन जस्ता ठकुरी थर नलेखेर थापा मगर लेखी भर्ती भए । पछि पेन्सन निस्किए, त्यही अनुरूप पेन्सन पट्टा लगायतका कागज पत्र बने । वि.सं. २०१६ पछि लागू भएको नागरिकता ऐन पछि नेपाली नागरिकता बन्ने भयो । तत्कालित गाउँपञ्चातका हाकिमहरूले कतिका कागजपत्र हेरेर सोही अनुरूप उनका सन्तानलाई नागरिकता दिए भने, कतिको मनोमानी ढङ्गले सच्चाइए वा बिगारिए यो हो नि हाम्रो वास्तविकता, यस्ता कुराहरूलाई हल्कारुपमा लिएर ठकुरी भनेको मगर वंशबाटै भएको हो भन्दा चित्त बुझ्दैन । लौ ठकुरी त मगर बाट बनेको हो, त्यसो भए मगर स्वयं कुन वंशबाट बने ? उनीहरूको असलियत के हो ? को हुन् उनीहरू ? छ यसको जवाफ ? के अहिलेका विद्धानहरूले भने झैँ मगरहरू जनजाति नै हुन् त ? या उनीहरूका पुर्खा मङ्गोलिया बाटै नेपाल प्रवेश गरेका हुन् त ? हो यसका बारेमा सोध खोज गरौंन ।
नेपालमा ठुलो बाहुल्यतामा जनसङ्ख्या भएको मगर बन्न र भन्न कसैलाई सजिलो भयो होला, त्यसरी भए वा बने भन्दैमा सिङ्गो ठकुरी समुदायलाई कतै मगर भनेको छ, कतै खस आर्य भनेको छ । यस्ता बकवास बन्द गरौँ । तपाइहरूले आफ्नै पिता पुर्खाका बारेमा सोधखोज गर्नुहोस्, हामी ठकुरीहरूले आफै हाम्रा बारेमा सोधखोज गर्छौँ र गरेका पनि छौँ । कहाँ -कहाँका ठकुरीहरू मगर बने र कहाँ-कहाँका कति ठकुरी खस आर्य बने भन्ने कुरा हामीसँग तथ्य र प्रमाणहरू छन् । सिन्धुपाल्चोकमा एउटा तामाङ गाउँ छ, जहाँ ८/१० घरधुरी ठकुरीहरूको छ । उनीहरू जात नै ठकुरी भएको बताउँछन् । चन्द, सिंह, सेन, शाह, शाही कुन थर हो भन्दा केही थाहा छैन । अलि बुढापाकालाई सोध्यो भने हामी राष्कोटी ठकुरी हौं मात्र भन्न सक्छन् । अब हेरौँ राष्कोटी ठकुरी को हुन् ? कहाँबाट आए र कसरी कुन जातीका ठकुरी राष्कोटी बने भन्ने बारेमा बुझ्दै नबुझी जे पायो त्यही भन्न त मिलेन नि ? उनीहरू तिनै तामाङ समुदायको भाषा बोल्छन् उनीहरूसँगै बिहेवाही चलाउँछन् । यस्तो छ अवस्था, त्यसैले पहिले हामीले हाम्रो भूगोल र हरेक समुदायलाई बुझ्न जरुरी छ । मगर समुदायको आफ्नै पहिचान छ, गर्विलो इतिहास छ, परम्परा र संस्कृति छ । अन्य कुनै समुदाय तिमीहरूकै हो वा तिमीहरू त्यो समुदायका हौ भनिदिँदा उनीहरूको भावनामा पनि त ठेस पुग्न जान्छ ।
हाम्रा विद्धान वर्गहरूले यस्तो कुरा खोइ बुझेको ? जात, धर्म, संस्कृति, परम्परा र भाषाका बारेमा सयौँ पटक सोचेर मात्र टिका टिप्पणी गर्ने गरौँ । यो अति संवेदनशील विषय हो । कुनै बजारमा मूल्य तोकिएको र बेच्नलाई मूल्यमा बार्गेनिङ गरेको जस्तो सस्तो विषयवस्तु होइन । यसर्थ हल्का रूपले टिका टिप्पणी गरिनु हुँदैन । ठकुरीहरू कहाँबाट आए ? कसरी ठकुरी भए ? कहिले देखि ठकुरी भनिए ? यसको बारेमा सोधखोजै नगरी टिका टिप्पणी गर्ने काम कसैले पनि नगरौँ ।
ठकुरी त्यसै ठकुरी बनेका होइनन् । निकै लामो इतिहास र कथा छ । भारत वर्ष, रामायण र महाभारतको सुरा सुराकी पात्रहरूसँग जोडिएको ठकुरीहरूको कथा छ । त्यसैले त आज धेरै सोध खोजीको विषय बनेको छ, ठकुरी समुदाय र शाह राजवंश, यो कुरा बुझौँ । तथ्यगत कुरा नबुझी, सतही टिप्पणी गर्दा कुनै पनि समुदायको भावनामा ठेस पुग्छ भन्ने कुराको हेक्का राखौँ ।