अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी बनेका छन् । उनी विजयी भएको औपचारिक घोषणा भने हुन बाँकी नै छ । अमेरिकी राष्ट्रपतिमा विजयी हुनको लागि ५३८ इलेक्टोरल भोटमा २७० आवश्यक पर्छ । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७६ इलेक्टोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो । डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेदवार कमला ह्यारिसले हालसम्म २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन् । ह्यारिस वर्तमान उपराष्ट्रपति पनि हुन् । ट्रम्प यसअघि पनि अमेरिकाको राष्ट्रपति भइसकेका व्यक्ति हुन् । उनी जनवरी २०, २०१७ देखि जनवरी २०, २०२१ सम्म अमेरिकाको ४५औँ राष्ट्रपति रहेका थिए । त्यति बेला उनले डेमोक्रेटिक पार्टीकी उमेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । ट्रम्पले दोस्रो कार्यकालको लागि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा पनि रिपब्लिकन पार्टीको तर्फबाट उमेदवार बनेका थिए ।

उनी त्यतिबेला डेमोक्रेटिक पार्टीका उमेदवार तथा हालका राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । ट्रम्पले यसपटक समेत गरी लगातार तेस्रोपटक अमेरिकी राष्ट्रपतिमा उमेदवारी दिएका हुन् । यसपटक उनी पुनः विजयी बनेका छन् । ट्रम्पले मतगणना जारी भइरहेका बेला फ्लोरिडामा आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफ्नो विजयको घोषणा गरिसकेका छन् । उनले आफूलाई अमेरिकाको ४५औँ र ४७औँ राष्ट्रपति बनाएकोमा अमेरिकनवासीलाई धन्यवाद दिएका थिए । “अमेरिकाले हामीलाई शक्तिशाली बहुमत दिएको छ,” सम्बोधनका क्रममा ट्रम्पले भनेका थिए । उनले आफ्नो जितलाई अमेरिकी जनताको सानदार जित भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिमा पुनः विजय भएका ट्रम्पले ४७औँ राष्ट्रपतिको जिम्मेवारी सन् २०२५ जनवरी २० बाट सम्हाल्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *