आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ : स्वास्थ्यमन्त्री पौडेल
तनहुँ । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्न आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन् । उनले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब आफू परिणाममुखी काम गर्ने गरी खटिइरहेको बताएका हुन् ।
मन्त्री पौडेलले भने, आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्म ढंगबाट कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौँ । एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा सरकारले काम गर्ने उनको भनाइ थियो ।
अर्को प्रसंगमा मन्त्री पौडेलले पुराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरे । उनले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहारबीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राखे । रासस