जीवराम भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित
काठमाडौं । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” लोकार्पित भयो ।
कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्धय नगेन्द्रराज शर्मा,रोचक घिमिरे,श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,प्रा.डा.महेशकुमार आचार्य,वरिष्ठ साहित्यकार पवन आलोक,प्रा.डा.गोविन्दप्रसाद पौडेल,डा.दिनबन्धु शर्मा,कृतिकार जीवराज भट्टराई लगायतले लोकार्पण गरे । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरु उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए ।
वरिष्ठ साहित्यकार रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिंदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरु चिर्नुपर्ने औंल्याए । समालोचक डा.शान्तिमाया गिरी र प्रा.डा.गोविन्दप्रसाद पौडेलले कथासङ्ग्रहमाथि टिप्पणी गरे ।
स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति प्रकाशनको अवसर दिएकोमा भट्टराईलाई धन्यवाद दिंदै नयाँ कृतिको लागि बधाई ज्ञापन गरे । उनले साहित्यिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबै लाग्नुपर्ने खाँचो औल्याए ।