ओभर लोडका कारण सवारीसाधन दुर्घटना भए स्थानीय प्रहरी प्रमुखलाई कारबाही हुने
काठमाडौँ । क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटनामा परे अब त्यस्तो सवारीले पार गरेको अन्तिम प्रहरी इकाईका प्रमुखलाई जिम्मेवार ठहरिने भएको छ ।
गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकमा भएको निर्णय कार्यान्वयन गर्न मातहतका निकायहरूलाई परिपत्र गरेको छ। गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई पनि यो परिपत्र पठाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार, अब स्थानीय स्तरमा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोकेको भेटिएमा स्थानीय प्रहरीले कडा कारबाही गर्नुपर्नेछ ।
प्रहरीको लापरबाहीले दुर्घटना भए त्यसको विभागीय जिम्मेवारी स्थानीय प्रहरी इकाई प्रमुखले लिनुपर्ने व्यवस्था गरिएको छ । पछिल्लो समय स्थानीय स्तरमा घातक दुर्घटना बढिरहेका छन् । नियमनको अभाव, सवारीसाधनको नियमित जाँच नहुनु र कानुनको प्रभावकारी कार्यान्वयन नभएको कारणले दुर्घटना दोहोरिने गरेको छ।