उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई कुलमानको पत्र
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ । बुधबार प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको भन्दै २८ उद्योगको खाता रोक्का गर्न आग्रहसहित राष्ट्र बैकमा पत्राचार गरेको हो । स्रोतका अनुसार प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्देशनमा बक्यौता नतिर्ने उद्योगले बैक तथा वित्तिय संस्थामा खोलेका सबै खाता रोक्का राख्न आग्रह गर्दै राष्ट्र बैकमा पत्र पठाइएको छ ।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा बिजुली कटौती गर्ने बाहेकका अन्य विकल्प प्रयोग गर्दै बक्यौता उठाउन पत्राचार गरेपछि उद्योगहरुको खाता रोक्का गर्न लागिएको स्रोतको भनाई छ । प्राधिकरण स्रोतका अनुसार डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न बाकी उद्योगको आइपिओ निष्कासन प्रक्रिया रोक्न आग्रह गर्दै नेपाल धितोपत्र बोर्डलाइ समेत पत्राचार गरिएको छ। प्राधिकरणले बक्यौता तिर्न बाकी रहेका उद्योगको आइपिओ निष्कासन रोक्न आग्रह गरेको छ ।