युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने बाइेडन प्रशासनको तयारी
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइेडन प्रशासनले युक्रेनलाई साढे ७२ करोड डलर बराबरको सैन्य सहायता प्याकेज दिने तयारी गरेको छ ।
राष्ट्रपतिका रूपमा दुई महिना पनि कार्यकाल बाँकी नरहेका बाइडेनले आगामी जनवरीमा सत्ता छाड्नु अघि जेलेन्स्की सरकारलाई बलियो बनाउने चाहना स्वरूप सहयोगको तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका हुन् । युक्रेनलाई बारुदी सुरुङ, ड्रोन, स्टिन्गर क्षेप्यास्त्र र हिमार्स रकेट प्रणालीका लागि गोला बारुद लगायत सामाग्री अमेरिकाले दिन लागेको हो । हतियार प्याकेज सम्बन्धमा संसद्लाई सोमबार सम्ममा औपचारिक सूचना दिने बाइडेन प्रशासनको तयारी छ ।
आपतकालीन अवस्थामा मित्र राष्ट्रहरूलाई सहयोग गर्न भण्डारमा रहेका हतियार आपूर्ति गर्न सक्ने राष्ट्रपतिको अधिकार ‘पीडीए’ प्रयोग गर्दै बाइडेनले सो सैन्य सहायता प्याकेज दिन लागेको बताइएको छ । बाइडेन सँग चार अर्ब देखि पाँच अर्ब डलर सम्मको हतियार सहायता दिन सक्ने कांग्रेस प्रदत्त पूर्वअनुमति अझै बाँकी रहेको छ ।
केही समय अघि बाइडेनले युक्रेनलाई अमेरिकाले आपूर्ति गरेको लामो दूरीको मार हान्ने क्षेप्यास्त्र अनुमति दिएका थिए । जनवरी २० मा नवनिर्वाचित डोनाल्ड ट्रम्पले सत्ता सम्हाले पछि युक्रेनलाई दिइँदै आएको सहायता कटौती गर्न र यथास्थितिमा रूस सँग सम्झौता गर्न दबाब दिन सक्ने बताइएको छ । उता बाइडेनले इजरायललाई ६८ करोड डलरको हतियार बिक्री गर्न प्रारम्भिक सहमति दिएका छन् ।
इजरायल र हिजबुल्लाह बीच युद्धविराम भएपछि गाजामा समेत युद्धविरामका लागि दबाब बढाउने अमेरिकी बाचाका बीच वासिङटनले थप हतियार बिक्री गर्ने भएको हो ।