अधिकारीबारे दरपिठविरुद्धको निवेदनमा मंसिर २३ गते सुनुवाइ
काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलविरुद्धको रिट दरपिठविरुद्धको निवेदनमा मंसिर २३ गते सुनुवाइ हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पैसा तिरेर जापान जानेहरूलाई पक्राउ गरेर अनुसन्धानका लागि थुनामा राखेकामा उनीहरूलाई लिएर गएको आरोप लागेका मन्त्रीलाई भने मुद्दा नचलाउने निर्णय गरेको थियो । जिल्ला सरकारी वकिलको निर्णय बदर गरी अधिकारीलाई अनुसन्धानको दायरामा राख्न माग गर्दै वरिष्ठ अधिवक्ता दिने त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनको रिट सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले प्रक्रियामा लग्न नपर्ने भन्दै दरपिठ गरिदिएका थिए । दरपिठविरुद्ध त्रिपाठीले लगेको निवेदन सर्वोच्चमा बिहीबार दर्ता भएको हो । उनको निवेदनमा मंसिर २३ गते सुनुवाइ हुन लागेको हो । सुनुवाइपछि इजलासले दरपिठ सदर गरे रिटको प्रक्रिया समाप्त हुन्छ । दरपिठ खारेज भएमा सर्वोच्चले सरकारी वकिलको निर्णयमा सुनुवाइ गरी न्यायिक परीक्षण गर्नेछ । सुनुवाइको प्रक्रियामा गएर न्यायालयले मुद्दा फिर्ताको निर्णय बदर गरे अधिकारीलाई पुनः पक्राउ गरी अनुसन्धान अघि बढ्नेछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनी मंसिर १० गते रिहा भएका थिए ।