लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति रास्वपाको आपत्ति
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ ।
प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति चर्को असन्तुष्टि जनाएका हुन् । यो घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरू प्रहरी सूत्रबाट प्राप्त भएको रास्वपाको दाबी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैर न्यायिक चाल हो । यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौँ । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ ।
जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै त्यस्तै, व्यवहार देखाइनु नेपालको संविधानविरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ ।
रास्वपाको विज्ञप्ति