सैनिकका लागि अयोग्य हुन धेरै खाएर मोटाउने युवकलाई जेल सजाय

दक्षिण कोरियामा सैनिक सेवा कुनै सामान्य विषय होइन। तपाईं विश्वप्रसिद्ध गायक, सफल अभिनेता वा अर्बपति नै किन नहुनुहोस्, यदि तपाईं १८ देखि ३५ वर्ष उमेर समूहको स्वस्थ वयस्क पुरुष हुनुहुन्छ भने, तपाईंले कम्तिमा २१ महिना सेनामा बिताउनैपर्छ। तपाईंले अनिवार्य सेवामा जान ढिलो गर्न सक्नुहुन्छ, तर कुनै न कुनै बेला तपाईंले यसलाई पूरा गर्नैपर्छ। तर, स्वास्थ्य समस्याका कारण तपाईंलाई सेवाका लागि अयोग्य घोषित गरिएमा भने तपाईं यस जिम्मेवारीबाट मुक्त हुनुहुन्छ। अनिवार्य रुपमा सेनामा भर्ती हुनबाट बँच्नका लागि दक्षिण कोरियामा एक युवकले अनौठो उपाय अपनाएका छन् । सेनामा भर्तीका लागि अयोग्य हुने उद्देश्यले ती युवकले अत्यधिक खानेकुरा खाएर आफ्नो जिउ अस्वभाविक रुपमा मोटो बनाएको अभियोग पुष्टि भएपछि ती युवकले एक वर्षको जेल सजाय पाएका छन् । नाम गोप्य राखिएका ती युवकले दैनिक रुपमा दोब्बर मात्रामा खानपिन गरेर सेनामा भर्ती हुनका लागि शारीरिक परीक्षण गर्नुअघि जानीजानी अत्यधिक मोटो बन्ने प्रयास गरेको कसूरमा दोषी ठहराइएको छ। ती युवकले आफ्ना एक मित्रद्वारा सुझाइएको योजनाअनुसार नै मोटो बन्नका लागि खानपिनको शैली र अपनाएका थिए । मोटाउनका लागि दोब्बर मात्रामा खानपिन गर्न सुझाव दिने उनका साथीलाई पनि मतियारको रुपमा राखिएको छ । कोरियाली अधिकारीका अनुसार ती युवकले मोटो बन्नका लागि विशेष योजना पछ्याएका थिए र निरन्तर आफ्नो तौलको निगरानी गरेका थिए। सियोल इस्टर्न डोङ्बु जिल्ला अदालतमा पेश गरिएका कागजातहरूले देखाएअनुसार, २६ वर्षीय ती व्यक्तिलाई अक्टोबर २०१७ मा भएको पहिलो शारीरिक परीक्षणमा ग्रेड २ दिइएको थियो, जस अनुसार उर्नी सैन्य सेवाका लागि योग्य थिए । तर, जून २०२३ मा, उनको बढेको शरीरको कारण उनलाई ग्रेड ४ दिइयो। १६९ सेमी अग्लो ती व्यक्तिको तौल १०२।३ किलोग्राम थियो र उनको शरीर द्रव्यमान बडी मास इन्डेक्स ३५।८ थियो, जसले उनलाई अनिवार्य सैन्य सेवाका लागि अयोग्य बनायो। आरोपित व्यक्तिलाई एक सरकारी निकायमा गैर(लडाकु भूमिकामा सेवा गर्न अनुमति दिइएको थियो, जहाँ उनी घरबाटै आवतजावत गर्न सक्थे। तर, अधिकारीहरूले उनको तौलमा भएको असामान्य वृद्धिलाई शंकास्पद ठाने, र अनुसन्धानका क्रममा उनले अनिवार्य सैन्य सेवाबाट बच्न जानीजानी तौल बढाउने काम गरेको प्रमाणित भयो । अन्ततः अदालतले उनलाई एक वर्षको जेल सजाय सुनाएको छ भने दुई वर्षका लागि निलम्बित गरिएको छ । उनलाई त्यस्तो बुद्धि दिने तथा मोटाउन सहयोग गर्ने मतियार साथीलाई साथीलाई छ महिनाको जेल सजाय तथा दुई वर्षको लागि निलम्बनको सजाय सुनाइएको छ । दक्षिण कोरियामा अनिवार्य सैन्य सेवाबाट बच्ने प्रयासमा दोषी ठहरिएका व्यक्तिहरूलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्ने प्रावधान छ । तर ती व्यक्तिलाई त्यसको एक तिहाई मात्रै जेल सजाय तोकिएको छ । उनको विगतमा कुनै आपराधिक रेकर्ड नभएको र आफ्नो अपराध स्वीकार गरेर भविष्यमा अनिवार्य सैन्य सेवा गर्ने प्रतिबद्धता जनाएको हुँदा कैद सजायँ घटाइएको अदालतले आफ्नो फैसलामा भनेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *