कानुनले रविको अनुहार चिन्दैन : गृहमन्त्री लेखक
काठमाडौं । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताएका छन् । उनले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताए । उनले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताए । शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने उनको भनाइ छ । प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने उनले बताए । अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भइ कारागार पठाइएको उनले बताए। ‘अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन । आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्नुपर्ने निकायले गर्ने हो । त्यसका लागि प्रहरी छ अनुसन्धान गर्नका लागि । त्यो अनुसन्धानलाई आवश्यक निर्देशन दिनका लागि, सहजीकरण गर्नका लागि, सहयोग गर्नका लागि महान्यायाधिवक्तासहितको सरकारी वकीलको त्यत्रो ठूलो संगठन छ । त्यसपछि अभियोजन गरिसकेपछि न्यायिक प्रक्रियामा जान्छ र अदालतले त्यसमा छिनोफानो गर्छ ।
त्यसकारण कुनैपनि खालको अनुसन्धानलाई फलानो गृहमन्त्री हुँदा अनुसन्धान एक ढंगले हुने, फलाने गृहमन्त्री हुँदा अनुसन्धान अर्का ढंगले हुने किसिमले जानु हुँदैन । प्रहरी जस्तो संगठनलाई शान्ति सुरक्षा जस्तो जोडिएको महत्वपूर्ण संगठनलाई दुरुपयोग गर्न नहुने बताए । कसैका पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने गृहमन्त्रीको भनाइ छ। ‘मान्छेको अनुहार हेरेर अनुसन्धान हुने होइन । कसैलाई कसैसँग रिस उठेको कारणले अनुसन्धान हुने होइन । प्रमाणले जहाँजहाँ भेट्छ, प्रमाण जहाँजहाँ जान्छ, त्यहाँ अनुसन्धान अघि बढ्छ,’ उनले भने, ‘एक जना मानिसका माथि मात्रै अनुसन्धान भएको होइन । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भएको छ । सयौँ मान्छेहरु थुनामा परेका छन् । विदेशबाट समेत मान्छेहरुलाई ल्याइएको छ ।’ गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनै पनि मानव अधिकारको उल्लंघन नभएको बताए । उनीमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको उनको भनाइ छ । काठमाडौंबाट राति नजाऔँ भन्दा गाडीमै जाने र राति नै जाने भन्ने तर चितवनबाट पोखरा शान्ति सुरक्षालाई दृष्टिगत गरेर लैजाँदा मानव अधिकार उल्लंघन भयो भन्नेकुरा बाहिरका मान्छेहरुले भनिरहेको उनले बताए । लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लंघन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लंघन नहुने हो भन्दै उनले प्रश्न गरे ।
अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय, सरकारी वकील कार्यालय, अदालत घेराउ गर्ने गरेको भन्दै भीडले न्याय दिन नसक्ने जिकिर गरे । ‘रविजीलाई चितवनबाट पोखरा लैजाने क्रममा मानव अधिकारको उल्लंघन भयो भनेर केही साथीहरु बोल्नुभयो । प्रमुख प्रतिपक्ष दलको नेता पनि बोल्नुभयो । हाम्रै पार्टीका नेताहरु पनि बोल्नुभयो । उहाँको कुनै मानव अधिकारको उल्लंघन भएको छैन,’ उनले भने, ‘उहाँमाथि कुनै ज्यादतीपूर्ण काम गरेको छैन । कुनै अवाञ्छित, गैरकानूनी, अमर्यादित काम, व्यवहार गरेको छैन । शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर उहाँलाई लगिएको हो । त्यो शान्ति सुरक्षा भनेको सबैका लागि हो, उहाँका लागि पनि हो । अनुसन्धान त हुन्छ त । आपराधिक कार्यमा अनुसन्धान हुँदैन ?’ लाखौं मानिसको अर्बौं रुपैयाँ सहकारीमा राखेको रकम अपचलन भएको उनले बताए। गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताए । उनले संलग्नमाथि कारबाहीका लागि सरकार अघि बढिरहेको बताए । ‘जहाँसम्म जीवि राईको कुरा यहाँले गर्नुभयो । उहाँलाई पनि फर्काउने बारेमा प्रयत्न भइरहेको छ । हामीले गर्ने कुरा गरिरहेका छौँ । त्यसका बारेमा अगाडि के हुन्छ हेरौँ । हाम्रो कोशिस जारी छ, उहाँलाई पनि ल्याउने कुरामा । जो संलग्न छ, अनुसन्धान भइरहेको छ ।