सरकारले लियो एडिबीबाट १ खर्ब ५ अर्ब ६१ करोड रूपैयाँ ऋण
काठमाडौँ । नेपाल सरकारले बिभिन्न परियोजनाका लागि भनेर एसियाली विकास बैंक (एडीबी)बाट १ खर्ब ५ अर्ब ६१ करोड रूपैयाँ ऋण सहयोग लिने भएको छ । त्यो ऋण सहायता रकममध्ये ६ अर्ब ५२ करोड रूपैयाँ अनुदानको रूपमा रहेको र करिब १ खर्ब रुपैयाँ रकम सहुलियतपूर्ण ऋण भनिएको छ । सरकारले दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिने बताएको छ ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरको अबसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडीबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता व्यक्त गरे भने निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडीबीले सघाउँदै आएको बताएका थिए।