किसान बहुउद्देश्यीय सहकारीको ३० औं साधारण सभा सम्पन्न
कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले एकाइगत रुपमा साधारण सभाको आयोजना गरी गत शुक्रबार निर्णय प्रमाणिकरण सभा गरेको हो । संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको अध्यक्षता तथा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख शुसिला शाहीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभामा विभिन्न प्रस्तावहरु माथि छलफल गरी अनुमोदन समेत गरिएको थियो । संस्थाका अध्यक्ष शाहले २०५२ सालमा बहुउद्देश्यीय प्रकृतीको सहकारी संस्थाका रुपमा स्थापना भएको संस्थाले प्रचलित सहकारी ऐन र नियमावलीमा व्यवस्था भए अनुरुप ३ वटा व्यवसायिक युनिटहरु मार्फत सेवा दिदै आएको बताए । स्थापनाकालमा मलखाद र खाद्यान्नको खरिद बिक्री गर्ने गरेको र संस्थाले २०५४ सालमा नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग कारोबारको स्विकृती लिई बचत तथा ऋण सेवालाई प्रभावकारी रुपमा प्रदान गर्न थालेको उनले जनाए । पछि गएर नेपाल राष्ट्र बैंकले आफ्नो नियमन दायरा परिमार्जन गरि सहकारी संस्थाहरु स्वनियमनमा रहन सक्ने भन्दै नियमन दायराबाट अलग गरेपछि संस्था स्व– नियमनमा रही सेवा प्रवाह गर्दै आएको उनको भनाई छ । संस्थाले वित्तिय सेवा प्रवाहमा राष्ट्र बैंकको नियमनमा रहँदा सिकेका राम्रा अभ्यासहरुको पालना गर्दै आएको र जस अनुसार सञ्चालक समितिका पदाधिकारीहरुले संस्थाबाट कर्जा उपभोग गर्न नपाउने, संस्थामा कर्जा कारोबार रहेका सदस्य सन्चालक समितिको कुनै पनि पदका लागि योग्य नरहने तथा कर्जा सुचना केन्द्रले जारी गर्ने साख सूचनाको विश्लेषण गर्ने लगायतका राम्रा अभ्यासहरुलाई संस्थाले निरन्तरता दिदै आएको उनले सभामा जानकारी दिए । फलस्वरुप सहकारी संस्थाहरु प्रति आम जनमानसमा वितृष्णा फैलिरहेका बेला हाम्रो संस्था सबल र मजबुत संस्थाको रुपमा उदाहरण बन्न सकेको उनको भनाई छ । वर्तमान परिस्थितीमा सहकारी संस्था प्रति सर्वसाधारणको वितृष्णा, निराशा र आक्रोश फैलिरहँदा थिती र नीतिमा चल्न सके सहकारी संस्थामा विचलन आउँदैन भन्ने उदाहरण यस संस्थाले दिएको शाहको दावी छ । संस्थाको मुख्य व्यवसायका रुपमा रहेको वित्तिय व्यवसाय रहेको र हाल ४० वटा शाखा कार्यालय मार्फत सदस्यलाई आधुनिक वित्तिय सेवा प्रदान गदैं आएको उनको भनाई छ । संस्थाले प्रविधिलाई परिष्कृत गर्दै आएको र मोबाईल बैकिंग, एटीएम, क्यू आर भुक्तानी लगायतका सुविधाहरु समयानुकुल प्रद्यान गर्ने गरेको शाहको भनाई छ । संस्थाले किसान–कोप एग्रो विजनेश ब्राण्ड नाम राखेर कृषि व्यवसाय सञ्चालन गर्दै आएको र एकलौटी व्यवसाय मात्रै नभई कृषक सदस्यलाई जोडेर लैजाने व्यवसाय समेत भएको उनले जनाए । जस अन्तर्गत सदस्यलाई कृषि सम्बन्धि निःशूल्क तालिम तथा परामर्श दिई उनीहरुको क्षमता अभिवृद्धि गर्ने र उत्पादनलाई बजार सम्म पु¥याउने काम गरेको उनको भनाई छ । त्यसैगरी महा–प्रबन्धक डम्बर बहादुर शाहले वार्षिक साधारण सभामा बार्षिक कार्यक्रम तथा प्रगति सहितको मन्तव्य राखेका थिए ।
केही सहकारी संस्थाहरुमा देखिएको वेथिति र विसंगतिका कारण समग्र सहकारी क्षेत्र नै बदनाम हुन पुगेका उनको भनाई छ । सहकारी संस्थाहरुमा भएको विकृति, विसंगतिलाई नियन्त्रण गर्न नियामक निकायहरुका साथै हामी सहकारी संस्थाका सदस्यहरु पनि जागरुक हुन आवश्यक रहेको उनले जनाए । नेपाल भरी करिव ३३ हजार रहेको र ती मध्ये केही नमुना र उदाहरणीय काम गरेका सहकारी रहेको उनले बताए । प्रतिशतमा हेर्दा ज्यादै कम संख्यामा मात्र सहकारीहरु धराशायी भएका, भागेका, सञ्चालनमा ल्याउन नसकेका, समस्याग्रस्त भएका घोषणा भएका छन् तर पनि वर्तमान परिस्थितिले गर्दा समुदाय केन्द्रीत, समुदायमुखी भई नमुना र उदाहरणीय काम गरेका सहकारीहरुलाई पनि एउटै डालोमा हेर्ने दृष्टिकोण गलत भएको उनको भनाई छ । नियामक निकायहरु बीच समन्वय गरी सहकारी संस्थाहरुको प्रभावकारी नियमन हुन आवश्यक रहेको र समयमा नैे आवश्यक ऐन, कानून निर्माण गर्न र कडाईका साथ कार्यान्वयन गर्न जरुरी भएको उनको भनाई छ । तीब्र प्रतिस्पर्धाका बिच संस्थाले नयाँ–नयाँ कार्यक्रम ल्याएर यस क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाउनुका साथै लोकप्रियता समेत हाँसिल गरी आफ्नो छुट्टै अस्तित्व र पहिचान बनाई सकेकोउनको दावी छ । सदस्यहरुलाई केन्द्रमा राखेर योजना बनाई अघि बढिएका कारण यो सम्भव भएको शाहले बताए । आगामी दिनहरुमा दीर्घकालिन योजनाहरुको निर्माण गर्दै नयाँ सोच, कार्यक्रम र आयामका साथ अघि बढ्ने उनले जनाए । सदस्यहरुको विश्वास जितेका कारण संस्थाको समग्र वित्तिय सुंचाङ्कहरु वृद्धि भएको उनले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगर्त गत आर्थिक बर्षमा २३ करोड ७६ लाख ६१ हजार खर्च गरेको उनले जनाए ।संस्थाले गत बर्ष ५१ हजार ६ सय सदस्यलाई विभिन्न तालिम दिएको छ । संस्थाको गत आर्थिक बर्षको असार मसान्तसम्म ४५ करोड ८१ लाख शेयर पुँजी, ६० करोड ४६ लाख जगेडा तथा अन्य कोष, ३ अर्ब ९६ करोड ७३ लाख बचत संकलन, ४ अर्ब ५३ करोड ७ लाख ऋण लगानी गरी कुल सम्पत्ति ५ अर्ब ८० करोड ५३ लाख पुगेको छ । संस्थामा ८५ हजार भन्दा बढी शेयर सदस्य रहेका छन् ।