सातवटै प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । सातवटै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । काठमाडौंमा वर्षाको सम्भावना रहे पनि निकै न्यून रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् ।
काठमाडौंमा आज वर्षाको सम्भावना निकै न्यून छ । वर्षा भए पनि साँझपख मात्रै हुनेछ, मौसमविद् लामिछानेले भने , छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ ।मधेस प्रदेशबाहेक ६ वटा प्रदेशमा हिमपातको सम्भावना छ । वर्षा सँगै हिमपातको सम्भावना रहेको हो । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना छ । वाग्मती र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको छ । दिउँसो १५ देखि १६ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ । काठमाडौंमा आज दिउँसो चिसो महसुस हुनेछ । रातिबाट मौसम खुल्दै जानेछ, उनले भने, मौसम सफा भएपछि चिसो भने केही बढ्नेछ । दिउँसो न्यानो भए पनि बिहान र बेलुका चिसो बढ्ने उनको भनाइ छ ।