भीम रावलको प्रश्न- पार्टी सदस्य नै नभएको मान्छेलाई स्पष्टीकरण सोधिन्छ ?
काठमाडौँ । नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले आफूलाई सोधिएको स्पष्टीकरणबाट आफैँ छक्क पर्न पुगेको बताएका छन् ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्पष्टीकरण वा दोषपत्र भन्ने द्विविधामा परेको दाबी गरेका छन् । ‘६ कात्तिकमा स्पष्टीकरण हात पर्यो । मैले पत्रलाई राम्रोसँग गम्भीर भएर पढेँ । हालसम्मको एमालेको इतिवृतान्तको सम्झना भयो,’ रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो । पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ । मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन । म छक्क परेँ ।’
उनल प्रश्न गरेका छन्, ‘पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र ?’ उनले आफ्नो नाम र पद उल्लेख नहुनुलाई केपी ओली गुटको पूर्वाग्रह र चरम द्वेष देखिएको बताए ।

















