विपिनको रिहाइका लागि इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेश मन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।
टेलिफोन वार्ताको क्रममा परराष्ट्र मन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् । जवाफमा अब्देल-अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् । गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।
गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो । सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ ।