गोरखामा स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

काठमाडौँ । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र उमेद्वारी दिएका ढकालाई वडाबाट १ मत पनि प्राप्त भएन । १४६९ मत खसेकोमध्ये उनले १ मत पनि नपाएका हुन् । मतगणना सकियो । माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ वडाध्यक्ष बने ।

आफुले हालेको भोट पनि हरायो !

निर्वाचन अधिकृत कार्यालयले वडा भरको मतपरिणाम सार्वजनिक गर्‍यो । तर, ढकाललाई १ मत पनि प्राप्त भएको देखिएन । त्यसपछि सामाजिक सञ्जालहरुमा ढकाल आफैले आफैलाई समेत मतदान नगरेको भन्दै बिभिन्न पोष्टहरु आउन थाल्यो ।आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि अहिले ढकाल तनावमा छन् । ‘म चुनावी प्रतिस्पर्धामा थिएँ, मैले मेरो भोट हालेको छु, तर गणनामा मेरो मत देखाइएन । मेरो मत खोज्न अब अदालत जानेछु’, ढकाल भन्छन् ।

आफुले आफैँलाई मत जाहेर नगरेको विषयमा सामाजिक सञ्जालहरुमा आफूमाथि नैतिक प्रश्न उठेपछि निर्वाचन अधिकृतसँग ढकाल जवाफ लिन गए । तर, अधिकृत कार्यालयले मत नै नआएको भन्दै फर्काएको उनी बताउँछन् ।उनी भन्छन्, ‘मैले आफुलाई मत जाहेर गरेको छु, बदर पनि भएको छैन, कसरी मेरो मत हरायो रु मतगणना गर्दा निर्वाचनका कर्मचारीले कुन हदसम्म लापार्बाही गर्दा रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ ।’

निर्वाचन अधिकृत खिमानन्द गौतमले भने कार्यालयबाट मतगणना गर्दा कुनै त्रुटी नभएको दावी गर्छन् । उनी भन्छन्, ‘गणना गर्दा सबै दलको प्रतिनिधि बसेर गणना गरेको हो, सबै विवरण प्रष्ट छ । त्रुटी भएकै छैन् । उहाँलाई चित्त नबुझेमा उच्च अदालत जान सक्नुहुन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *