निफको जुरीमा गौचन र पन्त
काठमाडौं । चैत ७ गतेदेखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा रहने दुई सदस्य छनोट गरिएको छ । छोटा फिल्म तथा वृत्तचित्रतर्फ निर्देशक दीपेन्द्र गौचन र कथानक फिल्मतर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक समितिमा सदस्य रहने तय भएको आयोजक संस्था नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले जनाएको छ । महोत्सवमा समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मी, राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तित्वबीच छलफल र कार्यशाला संचालन हुने जनाइएको छ । महोत्सवमा ४० देशका ८७ वटा फिल्म छनोट गरिएको छ । महोत्सवमा देखाइने फिल्म बुसान, कान्स, लोकार्नो, बर्लिन लगायतका फेस्टिभलमा स्क्रिनिङ भैसकेको जनाइएको छ । प्रविधिमा आएको विकासलाई आत्मसात गर्दै र दर्शकलाई नयाँ स्वाद दिन यो संस्करणदेखि एआईबाट बनाइएका वा सोसम्बन्धी विषयमा बनेको फिल्मबीच प्रतिस्पर्धा पनि हुनेछ । महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुफिल्मलाई ५ सय डलरको बागमती अवार्ड प्रदान गरिनेछ । एआई फिल्मलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट छोटो फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५०–५० हजार नगद र ट्रफी प्रदान गरिने जनाइएको छ ।