त्रिपाठीलाई आक्रमण गर्नेसँग एक–एक लाख धरौटी माग
काठमाडौं । काठमाडौं जिल्ला अदालतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेहरूसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ । शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले तीनैजना प्रतिवादीलाई समान एक–एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार, अभियुक्तहरूमध्ये दुईजना धरौटी बुझाएर रिहा भइसकेका छन् । धरौटी बुझाउन नसकेका एकजना अभियुक्त थुनामै छन् । दोलखा घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापा घर भई बानेश्वर बस्ने ५५ वर्षीया सितल राई भन्ने सीतादेवी राई धरौटी बुझाएर रिहा भइसकेका छन् ।
तर, धरौटी रकम बुझाउन नसकेका हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशीलाई थुनामै पठाइएको छ । वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि यही माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको थियो । रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसमा सहकारीपीडितका तर्फबाट बहस गरेर बाहिरिने क्रममा आक्रमण भएको थियो । त्रिपाठीले प्रहरीमा जाहेरी दिएपछि उनीहरू पक्राउ परेका थिए । उनीहरूविरूद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाइएको थियो ।