बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधिप्रति मुद्रा विप्रेषक संघको आपत्ति
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधिप्रति नेपाल मुद्रा विप्रेषक संघ आपत्ति जनाएको छ । साथै बैंक तथा वित्तीय संस्थाहरू विरूद्ध भइरहेको अराजक गतिविधि रोक्न संघले सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बैंक तथा वित्तीय क्षेत्र खलबलाउन भइरहेको अराजक गतिविधीहरू र सामाजिक संजालमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाहरू विरुद्ध सर्वसाधारणलाई भ्रमित पार्ने कार्य र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको संघले जनाएको छ । साथै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्था तथा निर्देशनको परिपालना गर्दै आएका संस्था विरूद्ध गलत तथा भ्रामक टिप्पणीमा कुनै ध्यान नदिनु र सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारहरुलाई मात्र आधिकारिक रुपमा लिन संघको आग्रह छ । साथै, आम सर्वसाधारणलाई भ्रमित पार्ने, गलत सूचना र आपत्तीजनक अभिव्यक्ति दिने र सर्वसाधारणलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने मौलिक अधिकारबाट वञ्चित गराउन उत्प्रेरणा दिनेलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही गर्न समेत संघले ध्यानाकर्षण गराएको छ । नेपाल मुद्रा विप्रेषक संघ नेपाल राष्ट्र बैंकद्वारा स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी र वित्तीय संस्थाहरूको प्रतिनिधित्व गर्ने छाता संगठन हो । २०६१ सालमा स्थापित यस संघले रेमिट्यान्स उद्योगको लागि एकीकृत आवाजको रूपमा काम गर्दछ ।