राष्ट्रिय पञ्चायतकी सदस्य नानीमैया दाहालको निधन
काठमाडौं । राष्ट्रिय पञ्चायतकी चर्चित सदस्य नानीमैया दाहालको काठमाडौंका मित्रपार्कस्थित दीर्घायु अस्पतालमा उपचारका क्रममा निधन भएको गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष तथा मित्रबन्धु कल्याणकारी गुठीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए । अर्यालका अनुसार १९९० सालमा जन्मिएकी नानीमैयाको ९१ वर्षको उमेरमा निधन भएको हो । ०३८ सालको राष्ट्रिय पञ्चायतमा प्रचण्ड बहुमतसहित प्रवेश गरेर नानीमैया देशभर चर्चित भएकी थिइन् । त्यसबेला उनले ६५ हजार ७७७ मत पाएकी थिइन् । उनी पछि दोस्रो मत पाएर निर्वाचित भएका जोगमेयर श्रेष्ठले भने ३० हजारभन्दा कम मत पाएका थिए ।
पञ्चायतका शासकका टिप्पणीमा मुखभरीको जवाफ दिने, शासकका नराम्रा काममा सार्वजनिक टिप्पणी गर्ने र आफ्ना कुरा नछोड्ने अभ्यासले ‘पञ्चायतका शासक थर्काउने’ पहिचान बनेको थियो । ०२९ सालमा जोरपाटी गाउँपञ्चायतको उपप्रधानपञ्च भएर काम गरेकी उनले नुन र तेलका लागि लाइन बस्नुपर्ने अभ्यास अन्त्य गरेको तथा भूमि सुधारमा रहेको जटिलता फुकाउन काम गरेकी थिइन् । सानै उमेरमा विवाह भएर छुटेकी नानीमैयाले त्यसपछि भने एकल जीवन बताइन् । घरमा बहिनी–ज्वाइँलाई ल्याएर राखेकी उनले बहिनीका सन्तानलाई नै आफ्ना सन्तान मानेकी थिइन् । उनकी बहिनीका छोराको समेत निधन भइसकेकाले नातिले काजकिरिया गर्ने अर्यालले जानकारी दिए ।