पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको आलोचना
काठमाडौं । क्याथोलिक चर्च र भ्याटिकन सिटी राज्यका प्रमुख पोप फ्रान्सिसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको आलोचना गरेका छन् । ट्रम्प प्रशासनले सामूहिकरूपमा आप्रवासीलाई देश निकाला गर्दा उनीहरूको अन्तर्निहित प्रतिष्ठामा आँच आउने उनको भनाइ छ । फ्रान्सिसले अमेरिकी विसपहरूलाई पठाएको पत्रमा आप्रवासीहरूको अधिकार र प्रतिष्ठाको वकालत गर्नुपर्ने बताएका छन् । उता फ्रान्सिसको पत्रबारे ट्रम्प प्रशासनका सीमा प्रमुख टम होमनले पोप आफ्नो काममा केन्द्रित हुनुपर्ने बताएका छन् ।
भ्याटिकन सिटी पर्खालले घेरिएको राज्य भएकाले अमेरिकाको सीमा नीतिभन्दा आफ्नो सुरक्षामा ध्यान दिनुपर्ने होमनको सुझाव छ । इतिहासकै पहिलो ल्याटिन अमेरिकी पोप आप्रवासीको विषयमा सकारात्मक वकालत गर्छन् । उनका अनुसार, अपरिचितलाई स्वागत गर्नुपर्ने धार्मिक मान्यता छ । द्वन्द्व, गरिबी र जलवायु प्रकोपबाट भाग्नेहरूलाई स्वागत गर्नुपर्ने तर्क उनको छ । यसअघि सन् २०१६ मा पनि फ्रान्सिसले सीमामा पर्खाल लगाउने क्रिश्चियन हुन नसक्ने टिप्पणी गरेका थिए । “सत्यका आधारमा नभएर बलका आधारमा निर्मित मानव प्रतिष्ठाको विषयको सुरुवात नराम्रो हुन्छ र अन्त्य पनि नराम्रो हुन्छ,” फ्रान्सिसले पठाएको पत्रमा उल्लेख छ ।