पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा ,काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित
काठमाडौँ । सडकमा रहेको पाइप फुटेर बबरमहल क्षेत्र डुबानमा परेपछि काठमाडौँ जिल्ला अदालतको सेवा प्रभावित भएको छ । बुधबार मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि काठमाडौँ जिल्ला अदालत, विशेष अदालत लगायत कार्यालयहरू डुबानमा परेका हुन् । काठमाडौँ जिल्ला अदालतले सूचना जारी गर्दै भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नम्बर फाँटमा क्षति भएकाले पेसी तथा इजलास अर्को सूचना प्रकाशित नभएसम्मका लागि सञ्चालन नहुने जनाएको हो ।
सूचनामा भनिएको छ,‘मेलम्ची खानेपानीको पाइप फुटी यस अदालतको दोस्रो भवनमा पानी पसी सो भवनको भुइँतल्लामा रहेको २६, २७, २८ र २९ नं। फाँटमा क्षति पुगेकोले सो फाँटहरूबाट प्रवाह हुने सेवा, सो फाँटको पेसी तथा २६, २७, २८ र २९ इजलास अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि सञ्चालन नहुने बेहोरा जानकारीका लागि यो सूचना जारी गरिएको छ । बबरमहलमा मूल सडकको वन परिसरतर्फको सडकमुनी बिछ्याइएको मेलम्चीको पानीको थोक आपूर्ति प्रणालीको २० इञ्जको पाइप फुटेको थियो ।