बालकोटको घर मेरो बलबुताले बनाएको होइन, ट्रस्टलाई दान गरिसकेको छ : प्रधानमन्त्री ओली
काठमाडौं । शनिबार काठमाडौंमा प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनामा हेरफेर हुन सक्ने विषयलाई सामान्य मान्नुपर्ने बताएका छन् । लोकतन्त्र र लोकतान्त्रिक प्रणालीबाहेक संरचनागत पक्षमा सुधार र हेरफेर हुन सक्ने उनले स्पष्ट पारे । उनले सात प्रदेश नौ वा पाँचवटा पनि हुन सक्ने बताए । सातवटा प्रदेश नौवटा पनि हुनसक्छ । सातवटा प्रदेश पाँचवटा पनि हुनसक्छ, उनले भने, त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने आवश्यक छैन । ६ वटा पनि हुनसक्छ । नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने उनले उल्लेख गरे । उनले देश, विकास र जनताको आवश्यकताअनुसार सुधार हुने विषयमा रुवाबासी गर्न जरुरी नरहेकामा जोड दिए । त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो, उनले भने, त्यस्तो लोकतन्त्र भनेजस्तो, गणतन्त्र भनेको जस्तो, लोकतान्त्रिक गणतन्त्र भनेको जस्तो आधारभूत कुरा त्यो होइन ।
‘बालकोटको घर मेरो बलबुताले बनाएको होइन, ट्रस्टलाई दान गरिसकेको छ’ प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटस्थित घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट निर्माण गरिएको बताए । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको सुनाए । आफूजति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने उनको भनाइ थियो । अहिले घरको जुन चर्चा गर्दछन्, त्यो राधिका शाक्यले बनाएको हो । मेरो बुताले, मेरा हुतीले होइन, उनले भने, त्यो घर पनि ट्रस्टलाई दान गरिसकेको छ । मेरो कमाइ दान गरेको होइन, उनकै कमाइ दान गरेको हो । उनले अगाडि भने, त्यसकारण मजति श्रीमतीसँग खुसी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुसी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।