ट्वाइलेट जान जम्मा २ मिनेट, पटक–पटक गए जरिवाना

कम्पनीहरुले आफ्ना कर्मचारीका लागि विभिन्न खालका नीति नियम बनाएका हुन्छन् । कर्मचारीको आचरण, अनुशासन, सेवा सुविधा लगायतका विषयमा तयार गरिएका त्यस्ता नीति नियम तथा कानूनहरुले कर्मचारीहरुको कार्यसम्पादनलाई अब्बल बनाउँदै सांगठनिक लक्ष्य प्राप्तिमा सघाउँछन् । तर चीनमा एक कम्पनीले यस्तो नियम बनाएको छ, जो कर्मचारीका लागि निकै निरंकुश तथा अनुपयुक्त मात्र होइन अमानवीय पनि देखिन्छ । सो कम्पनीले आफ्ना कर्मचारीका लागि ट्वाइलेट नियम बनाएको छ जसमा ट्वाइलेट जानका लागि निश्चित समय तय गरिएको छ । त्यसभन्दा धेरै पटक ट्वाइलेट गएमा सम्बन्धित कर्मचारीमाथि जरिवाना हुनेछ र तलब कटौती गरिनेछ । व्यापक आलोचनाका कारण यो नियम कार्यान्वयन धेरै दिन भने टिकेन । कम्पनीका अनुसार उक्त नीति प्राचीन चिनियाँ चिकित्सा शास्त्र अनुरुप छ । गुआंडोंग प्रान्तको फोसानमा रहेको थ्री ब्रदर्श मेसिन म्यानुफ्याक्चरिङ कम्पनीले गत फेब्रुअरी ११ मा कर्मचारीको ट्वाइलेट प्रयोग सम्बन्धी उक्त नियम लागु गरेको हो । कार्यालयको व्यवस्थापनलाई चुस्त बनाउनुु, दक्षता बढाउनु तथा कार्यस्थलको दृष्टिकोणमा सुधार ल्याउनु उक्त नियमको उद्देश्य छ । समाचार अनुसार प्राचीन चिनियाँ चिकित्सा ग्रन्थलाई उधृत गर्दै कम्पनीले उक्त नियम आफ्ना कर्मचारीहरुको स्वास्थ्यका लागि तयार गरिएको दाबी गरेको छ । २ हजार वर्षअघि संकलित उक्त आधारभूत ग्रन्थलाई पारम्परिक चिनियाँ चिकित्सा (टिसिएम)मा सबैभन्दा प्रारम्भिक तथा महत्वपूर्ण मानिन्छ । जसलाई चीनमा प्रायः चिकित्साको सुरुवात मानिन्छ, जुन टिसिएमका लागि आवश्यक सिद्धान्त हो । कम्पनीको नियम अनुसार कर्मचारीहरुका लागि बिहान ८ बजेभन्दा अघि, बिहान साडे १० देखि १०ः४० बजेसम्म, दिउँसो १२ देखि १ः३० को बीच, अपरान्ह साडे ३ देखि ३ः४० सम्म र बेलुकी साडे ५ देखि ६बजेसम्म शौचालय प्रयोग गर्ने अनुमति रहेको छ । ओभरटाइम सिफ्टमा काम गर्ने कर्मचारीहरुका लागि रातको ९ बजेपछि पनि ट्वाइलेट सुविधाको प्रयोग गर्ने अनुमति छ । अन्य अवधिमा यदि कर्मचारीहरुलाई आकस्मिक रुपमा शौचालय जानुपर्यो भने पनि उनीहरु जान त पाउँछन् तर उनीहरुले फटाफट २ मिनेट भित्रमा शौच गरेर फर्किसक्नुपर्नेछ । कम्पनीले बिहान र दिउँसोको केही समय शौचालयको प्रयोगमा सख्त प्रतिबन्ध लगाएको छ, जसमा ओभरटाइम सिफ्ट पनि रहेको छ । जो कर्मचारीहरुलाई विशेष शारीरिक समस्याका कारण छिटो छिटो शौचालय जानुपर्छ उनीहरुले हाकिमसँग त्यसका लागि अनुमति लिन सक्दछन् । तर त्यसरी पटक पटक ट्वाइलेट जाँदा बिताएको समयका लागि उनीहरुको तलब कटौती गरिनेछ । कम्पनीको नियम अनुसार क्यामराहरुका माध्यमबाट कर्मचारीहरुको निगरानी गरिनेछ र ट्वाइलेट नियम उल्लंघन गर्ने कर्मचारीमाथि १ सय युआन जरिवाना हुनेछ । यो नियमलाई परीक्षणका रुपमा फेब्रअरी महिनाको अन्त्यसम्म लागु गर्ने र मार्च १ देखि भने आधिकारिक रुपमा कार्यान्वयन गरिने कम्पनीको योजना थियो । तर विज्ञहरुले भने यस्तो नियमले कर्मचारीहरुको स्वास्थ्यलाई खतरामा पारेर श्रम कानूनको उल्लंघन गर्ने टिप्पणी गरेका छन् । कम्पनीको ट्वाइलेट नियम सार्वजनिक भएसँगै त्यसको व्यापक आलोचना भइरहेको छ । बेइजिङ न्यूजको सम्पादकीयमा भनिएको छ– सामान्य चेतना भएको कोही पनि व्यक्तिले यो कुरा बुझ्नसक्छ कि यो नियम कम्पनीको व्यवस्थापनले बनाएको एउटा मनोमानीपूर्ण निर्णय हो । यो यस उद्यममा एउटा सत्तावादी दृष्टिकोणको उदाहरण हो, जसले आफ्ना कर्मचारीप्रति कठोर नियन्त्रणकारी शैलीलाई बढावा दिन्छ । यसैबीच, यस्तै आलोचनाका कारण कम्पनीले उक्त नियम लागु गरेको केही दिनमै फेब्रुअरी १३ मा त्यसलाई खारेज गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *