हनिमुन मनाउन गएको जोडी आपसमै कुटाकुट गरेर फर्कियो
नवविवाहित जोडी ‘हनिमुन ट्रिप’मा जाने प्रचलन बढ्दो छ । तर सबैका लागि यस्तो ‘ट्रिप’ सुखद् हुँदैन भन्ने उदाहरण हालै एक भारतीय जोडीले दिएका छन् । भारतको उत्तर प्रदेश राज्यको महाराजगञ्जमा विवाहको १० पछि एक जोडी ‘हनिमुन ट्रिप’मा गएको थियो । ‘हनिमुन ट्रिप’कै क्रममा झगडा र कुटाकुट हुँदा यो जोडीको विवाद अहिले अदालतमा पुगेको छ । नवविवाहित महिलाका तर्फबाट प्रहरीमा उजुरी गरिएको आधारमा मुद्दा चलेको हो । ती महिलाले आफ्नो विवाह १२ फेब्रुअरीमा भएको खुलाएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार निचलौल क्षेत्र अन्तर्गत चमनगञ्ज पुल नजिकै घर भएका रत्नेश गुप्तासँग उजुरीकर्ताको विवाह भएको थियो । विवाह लगत्तै आफूलाई पतिको घरका सदस्यले उत्पीडन गरेको ती महिलाले उजुरीमा उल्लेख गरेकी छन् । तत्कालै आफूले यसबारे माइती पक्षलाई जानकारी गराएको र माइती पक्ष आएर सम्झाइ–बुझाइ मामिला शान्त पारेको उनले उजुरीमा प्रस्ट पारेकी छन् । १९ फेब्रुअरीमा पतिसँग आफू गोवामा हनिमुन मनाउन गएको तर त्यहाँ पनि पतिले आफूलाई कुटपिट गरेको ती महिलाको जिकिर छ । उनले गोवाबाटै माइती पक्षलाई घटनाबारे जानकारी गराएको बताइन्छ । माइती पक्षले उनलाई २२ फेब्रुअरीमा गोवाबाट माइत बोलाएका थिए । त्यसपछि उनले प्रहरीमा उजुरी गरेकी हुन् । नवविवाहिताले प्रहरीलाई विवाह लगत्तै भएको उत्पीडन र गोवामा भएको मारपिटबारे जानकारी गराएको बताइएको छ, जसमा पतिले घाँटी थिचेर आफ्नो हत्या प्रयास गरिएको, दाइजो उत्पीडन गरेको लगायतमा उजुरी दिइएको छ ।