जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने अध्यक्ष प्रचण्डको चेतावनी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने चेतावनी दिएका छन् ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिएका हुन् । आज जनताले पाएको अधिकार कसैको दयामायाले नभई जनताको संघर्षले प्राप्त गरेकाले यसमा आँखा नलगाउन चेतावनी दिए । हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरुले अहिले जनताले पाएको अधिकारलाई माओवादी एजेन्डा देख्ने र कसरी खोस्न सकिन्छ भनेर लागेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यस्तो प्रवृत्तिका विरुद्ध जनताको एकताबद्ध तागतको बलमा अघि बढ्ने बताए ।
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले काङ्ग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सँधै कमजोर हुने अवस्था अब आउन नदिने बताए । अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरुसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि सङ्कल्पसहित जनतामा आएको बताए ।