आमसञ्चार विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं । प्रतिनिधिसभा बैठकबाट आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत भएको छ । मंगलबार बसेको बैठकमा उक्त विधेयकमाथि सामान्य छलफल भएसँगै विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । त्यसअघि छलफलका क्रममा सांसदले विधेयकको औचित्यमाथि प्रश्न गरेका थिए । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रेस काउन्सिल विधेयकले सञ्चार जगत्को विद्यमान अवस्थालाई समेट्न नसकेकाले आमसञ्चार परिषद् विधेयक ल्याइएको बताए ।
उनले पुरानो विधेयकमा छापा मिडियालाई मात्रै केन्द्रित गरिएकोमा अब विद्युतीय सञ्चारमाध्यमलाई समेत व्यवस्थित गर्न नयाँ कानुन ल्याउन खोजिएको उल्लेख गरे । विधेयकमा सञ्चारमाध्यमको स्वनियमको व्यवस्था गरिएको उनले बताए । आमसञ्चार परिषद् विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएसँगै सांसदहरूले संशोधन प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था रहेको छ । प्रतिनिधिसभाको अर्को बैठक फागुन २१ गते बुधबार बोलाइएको छ ।