मलद्वारमा लुकाएर उज्बेक नागरिकले ल्याए पौने ४ किलो सुन
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्रााम (पौने ४ किलो) सुनसहित चार जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् ।
दुबईबाट आएको फ्लाई दुबईको एफजेएड ५७५ नम्बरको विमान बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमनस्थलमा अवतरण भयो । विमानस्थलको टर्मिनल गेटमा शंका लागेपछि सुरक्षा जाँच गर्दा उनीहरूको साथबाट सुन बरामद गरिएको हो । पक्राउ परेकाहरू उज्बेकिस्तानका नागरिक अखमदजनोभ्ना डिल्फुजा मारिफालिभ, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामजनोभ्ना उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ रहेका छन् । तुर्सुनोभ बाहेक अन्य सबै महिला हुन् । जब अध्यागमन र भन्सारको जाँच पासबाट उनीहरू बाहिर आए त्यसपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको पाइएको छ । पक्राउ परेकाहरु सबैको प्रहरीले मलद्वारबाट पौने चार किलो सुन बरामद गरेको हो । सानो–सानो गुच्चाको आकारमो डल्लो बनाएपछि उक्त सुन चारै जनाले मलद्वारमा लुकाएर दुबईबाट काठमाडौं ल्याइपुर्याएको देखिएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ र यसको पछाडि संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।