विद्युत प्राधिकरणको ६ महिनाको नाफा ११ अर्ब ३६ करोड
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।
सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरु लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । प्राधिकरणले २०७३/७४ मा एक अर्ब ५० करोड, २०७४/७५ मा ३ अर्ब ४४ करोड, २०७५/७६ मा ९ अर्ब ८१ करोड, २०७६/७७ मा ११ अर्ब ७५ करोड, २०७७/७८ मा ६ अर्ब ९ करोड, २०७८/७९ मा १३ अर्ब ३७ करोड र २०७९/८० मा ९ अर्ब ४१ करोड कमाई गरेको थियो । त्यस्तै गत आव २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ ।
प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ । भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्व ४९ करोड रुपैयाँ खर्च भएको छ ।