एमाले प्रचार तथा प्रकाशन विभागको सचिवमा पाण्डे
काठमाडौं । नेकपा एमालेले पार्टीको प्रचार तथा प्रकाशन विभागको सचिवमा गणेश पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको छ । विभागको सचिव रहेका गगन विष्ट सूचना आयोगका सदस्य नियुक्त भएपछि यो पद रिक्त थियो । पाण्डे हाल पार्टी निकट पत्रकारहरूको संगठन प्रेस चौतारीको उपाध्यक्ष छन् ।
उनलाई प्रचार विभागको सचिव मनोनयन गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए । आइतबार बसेको सचिवालय बैठकमा रिक्त रहेका विभागको सदस्यहरूलाई पूर्णता दिने कार्यसूची थियो । तर, धेरै सदस्यहरूको नाम सिफारिस भएकाले आज त्यसबारे कुनै निर्णय नभएको एक पदाधिकारीले बताए । तर, दुई वटा विभागका सचिव भने मनोनयन गरिएको छ । पार्टीको स्थानीय विभागको सचिवमा नवराज गेलाल मनोनित भएका छन् ।